बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने पहिलो



बिजमाण्डू
२०८३ भदौ ६ गते १६:५१ | Aug 22, 2026
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने पहिलो


काठमाडौं। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने पहिलो भएकी छन्।

Vigo
GBIME
Tata

प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा ५ किलोमिटर दौड १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै न्यौपाने प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटी १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय र निर्मला केसीले १८ मिनेट ९.१ सेकेन्डमा पूरा गर्दै तृतीय भएका छन्।

त्यसैगरी सुनसरी रोकाया चौथो, सृजना पाण्डे पाँचौँ र आशा रावत छैटौँ भएका छन्। विजेताहरूलाई कांग्रेस उपसभापति पुष्पा भुसालले नगद पुरस्कारको चेक हस्तान्तरण गरिन्। सहमहामन्त्रीद्वय डा. डिला सङ्ग्रौला पन्त र मुक्ताकुमारी यादवले क्रमशः ट्रफी तथा पदक हस्तान्तरण गरे।

पहिलो भएकी पूर्णलक्ष्मी न्यौपानेले नगद ५० हजार प्राप्त गरेकी छन्। दोस्रोलाई २५ हजार, तेस्रो २० हजार, चौथो १२ हजार, पाँचौँ १० हजार र छैटौँ हुनेले ८ हजार रुपेयाँसहितको पुरस्कार पाएका छन्। पाटन दरबार स्क्वायर, मंगलबजारबाट सुरु भएको दौड पुल्चोक-झम्सिखेल-भनिमण्डल-एकान्तकुना-जावलाखेल-पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो।

नेपाल महिला संघको सहभागितामा आयोजित प्रतियोगिता सुरु हुनुअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा तथा लाखे नृत्य प्रस्तुत गरिएको थियो। दौडमा सहभागी महिलाहरूले यसै साता बाराको जीतपुर-सिमरा नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाप्रति न्यायको माग गर्दै ‘जस्टिस फर गरिमा चौधरी’ लेखिएको प्लेकार्ड बोकेर मौन प्रदर्शनसमेत गरेका थिए।