चिनियाँ रियलइस्टेट व्यवसायी एभरग्रान्डे संस्थापक जियाइनलाई आजीवन कारावासको सजाय



बिजमाण्डू
२०८३ भदौ ४ गते १५:५५ | Aug 20, 2026
चिनियाँ रियलइस्टेट व्यवसायी एभरग्रान्डे संस्थापक जियाइनलाई आजीवन कारावासको सजाय


बेइजिङ। चीनको एक अदालतले रियलइस्टेट व्यवसायी एभरग्रान्डे समूहका संस्थापक जु जियाइनलाई ठूलो वित्तीय धोखाधडीसहितका अपराधमा आजीवन कारावासको सजाय सुनाएको छ।

Tata
GBIME

अदालतले एभरग्रान्डे समूह र त्यसको अचल सम्पत्ति शाखालाई १५ अर्ब ८२ करोड युआन अर्थात् करिब दुई अर्ब ४० करोड अमेरिकी डलर जरिवाना गरेको छ। दक्षिण चीनको शेन्जेन मध्यवर्ती जनअदालतले जुको सबै व्यक्तिगत सम्पत्ति जफत गर्नुका साथै उनका राजनीतिक अधिकार आजीवन खोस्ने निर्णय गरेको हो।

अदालतका अनुसार सन् २०१६ देखि २०२१ सम्म जु र एभरग्रान्डेले ठूलो परिमाणमा वित्तीय धोखाधडी गर्दै कम्पनीको सम्पत्ति बढाउने र दायित्व लुकाउने काम गरेका थिए। वित्तीय संस्थामाथि प्रभाव जमाउन घुसखोरीसमेत गरिएको अदालतले जनाएको छ।

एक समय चीनको तीव्र विस्तार भइरहेको रियल स्टेटको प्रमुख कम्पनी एभरग्रान्डे अत्यधिक ऋणमा आधारित व्यवसाय विस्तारका कारण संकटमा परेको थियो। सरकारले अत्यधिक ऋण र सट्टेबाजी नियन्त्रण गर्न कडाइ गरेपछि कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको थियो।

ऋणदातालाई भुक्तानी गर्न नसकेपछि एभरग्रान्डे सन् २०२१ मा ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। कम्पनीको संकटले चीनको रियल स्टेटमा रहेको गम्भीर वित्तीय समस्यासमेत उजागर गरेको थियो। ऋण संकटका कारण घर निर्माण, लगानीकर्ता र ऋणदातामाथि परेको प्रभावले चिनियाँ अर्थतन्त्रमा समेत दबाब बढाएको थियो।

अदालतले एभरग्रान्डेका अन्य पाँच वरिष्ठ कार्यकारीलाई पनि वित्तीय धोखाधडीसहितका अपराधमा दोषी ठहर गर्दै ६ देखि १८ वर्षसम्मको जेल सजाय सुनाएको छ। जुले आर्थिक हिनामिना र घुसखोरीलगायत आरोपमा गत अप्रिलमै दोष स्वीकार गरेको एएफपीको समाचारमा छ।

जु जियाइन कुनै समय चीनकै सबैभन्दा धनीमध्ये एक थिए। उनको सम्पत्ति सन् २०१७ मा करिब ४५.३ अर्ब डलर पुगेको थियो। तर कम्पनी संकटमा परेसँगै उनको सम्पत्ति तीव्र रूपमा घटेको थियो। अदालतका अनुसार सन् २०१६–२०२१ बीच एभरग्रान्डेले वित्तीय विवरणमा हेरफेर गरी सम्पत्ति बढाएर र दायित्व लुकाएर आफ्नो वित्तीय अवस्था वास्तविकभन्दा बलियो देखाएको थियो।

कम्पनीले सन् २०१९ र २०२० मा मात्रै करिब ८० अर्ब डलर बराबरको आम्दानी बढाइचढाइ गरेको अनुसन्धानबाट खुलेको उल्लेख छ। हङकङको अदालतले जनवरी २०२४ मा एभरग्रान्डेलाई लिक्विडेसनमा लैजाने आदेश दिएको थियो। ऋण पुनर्संरचनाको योजना असफल भएपछि यो निर्णय भएको थियो।

फैसलामा पाँच जनामात्र होइन, कम्पनीसँग सम्बन्धित अन्य व्यक्तिहरू पनि सजायमा परेका छन्। समाचार संस्था एपीका अनुसार जुका छोराहरू सहित कम्पनीसँग सम्बन्धित ५० भन्दा बढी व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ; केहीलाई २२ महिनादेखि १८ वर्षसम्म सजाय भएको छ।