काठमाडौं। उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधन कुन ठाउँमा छन् र आफूले पर्खिएको ठाउँमा आइपुग्न कति समय लाग्छ? जस्ता प्रश्नको जवाफ अब मोबाइल एपबाट थाहा हुने भएको छ।
काठमाडौँ महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सार्वजनिक गरेकी छन्।
उनले बिहीबार ‘संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’को तेस्रो बैठकमा मोबाइल एप सार्वजनिक गरेकी हुन्। यो एपबाट जीपीएस जडान भएका करिब १२०० सवारी साधनका बारेमा जानकारी लिन सकिन्छ।
परिषद्की अध्यक्ष रहेकी डंगोलले उपत्यकाभित्र दिनमा चल्ने यातायात प्रणालीलाई सहज बनाउन, रात्रिकालीन सेवालाई विस्तार गर्न स्थानीय तहबीच वित्तीय साझेदारीसहितको प्रणालीमा काम गर्नु पर्ने बताइन्।
‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्दैन। त्यसैले यसमा पालिकाहरुबीच समन्वय गरेर कार्यक्रम र सेवालाई एकरुपता दिनुपर्छ,’ उनले भनिन्।
बैठकमा परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस चढ्ने यात्रुले सहज महशुस गर्ने प्रणाली आवश्यक रहेको बताए।









