चीनको विकासबारे नेपालमा छलफल, नेपालीले कसरी देखे परिवर्तन?



बिजमाण्डू
२०८३ भदौ ३ गते १८:११ | Aug 19, 2026
चीनको विकासबारे नेपालमा छलफल, नेपालीले कसरी देखे परिवर्तन?
Photo : Xinhua


काठमाडौं । भौतिक विकास तथा मानव अधिकार लगायतका क्षेत्रमा चीनले गरेको विकासलाई त्यहाँ अवलोकन गर्न पुगेका नेपालीहरूले अनुकरणीय भन्दै प्रशंसा गरेका छन्।

Tata
GBIME

चीन मानवअधिकार अध्ययन समाज, राष्ट्रिय मानवअधिकार आयोग नेपाल र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा आज आयोजना गरेको ‘सिजाङ प्यानोरमाः नयाँ युग नयाँ विकास’ शीर्षकको अन्तर्राष्ट्रिय कथा–साझेदारी कार्यक्रममा नेपाली वक्ताहरूले चीनको विकासले प्रभावित बनाएको व्याख्या गरेका हुन्।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष तथा कानुनविद् कुमार शर्मा आचार्य, मानव अधिकारकर्मी सुशील प्याकुरेल, डा कुन्दन अर्याल, कलाकार बुद्धि तामाङ लगायतले तिब्बत र चीनको विकासका सन्दर्भलाई मानव अधिकारको दृष्टिकोणबाट व्याख्या गरेका थिए।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको संरक्षण तथा प्रवर्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

अध्यक्ष मगरले राष्ट्रिय मानवअधिकार आयोगको भूमिका र आयोगले गरिरहेका कामका बारेमा जानकारी गराउँदै मानवअधिकारका विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्तलाई लागू गर्दै तिनको कार्यान्वयनमा नेपाल र चीनबीच अनुभव आदानप्रदान, समन्वय तथा सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए।

मगरले जलवायु न्यायको विषयलाई पनि मानवअधिकार रक्षाका दृष्टिकोणले हेर्दै काम गरिरहेको बताए। उनले अब विकास र सूचना प्रविधिलाई पनि मानवअधिकारसँग जोडेर हेर्नुपर्ने अवस्था आएको उल्लेख गरे। अध्यक्ष मगरले चीन मानवअधिकार अध्ययन समाजसँग मिलेर काम गर्ने अवसर आएकामा खुसी पनि व्यक्त गरेका थिए।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीनको विकासका साथसाथै समृद्ध र सशक्त नेपालका लागि कसरी क्रियाशील हुन सक्छौँ भन्ने विषयमा ध्यान दिन आवश्यक भएको बताए।

उनले नेपाल चीनबीचको सम्बन्धको बहुआयाम, विकास र सूचना प्रविधिको क्षेत्र चीनले हासिल गरेको उपलब्धि तथा मानवअधिकार संरक्षण र प्रवर्द्धनका विषयमा आफ्नो धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जाल नेपालको सूचना प्रवाहको मुख्य माध्यम भएको भन्दै सही सूचनाको अभावले समस्या भइरहेको, गलत सूचनाको कारण मानवअधिकारको हनन् भइरहेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न पहल भइरहेको बताए।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले मानवअधिकार विश्वव्यापी चासो र सरोकारको विषय भएको उल्लेख गर्दै यो नेपाल र चीनबीचको चासो तथा सरोकारको विषय मात्रै नभएको धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्यले सिजाङको विकास, उपलब्धि र प्रविधिबारे चर्चा गरेका थिए।

हास्य कलाकार बुद्धि तामाङले चीनको सिजाङले प्राकृतिक सुन्दरतालाई कायम राख्दै संस्कार, संस्कृति र विकासलाई निरन्तरता दिएको उल्लेख गर्दै नेपालले पनि यस्तो अभ्यासलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए।

मानवअधिकार सम्बन्धी दृष्टिकोण र अनुभवको आदानप्रदानलाई सहज बनाउने, पारस्परिक समझदारीलाई प्रवर्धन गर्ने तथा नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा नेपालका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।