काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले बिदाइ भेट गरेकी छन्।
लोरेन्जोले मंगलबार परराष्ट्र मन्त्रालय पुगेर बिदाइ भेटका क्रममा ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको रहेको बताइन्।
राजदूत लोरेन्जोले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका क्षेत्रमा पनि नेपालसँग सहकार्य गर्ने ईयूको योजना रहेको बताएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सगरमाथा संवादको दोस्रो संस्करण आगामी वर्ष आयोजना हुने जानकारी दिनुभयो ।
मन्त्री खनालले सुरक्षित र मर्यादित आप्रवासन नेपालका लागि प्राथमिकताको विषय रहेको भन्दै ‘विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर’ रहेको बताए।









