प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहकोतर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको प्रतिवेदन पेस गर्ने



बिजमाण्डू
२०८३ भदौ २ गते ०७:१७ | Aug 18, 2026
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहकोतर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको प्रतिवेदन पेस गर्ने


काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न ४ वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

Tata
GBIME

बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन्।

यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन-२०८२ असार) पेस गर्नेछिन्।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, कानुनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नेछिन्।

त्यस्तै, आजै विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दैछ। प्राप्त विवरणअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। रासस