काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन गर्दै २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने खेलाडी सार्वजनिक गरेको हो।
मनोनयनमा पर्ने खेलाडीमा भलिबलकी मिना सुनार, फुटबलर पुजा राना, कराते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स, एमएमएका रविन्द्र ढाँट छन्।
आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी खल्ती बाई आईएमईबीच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ। एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्ती मार्फत गर्नेछ।
भोटिङमा नयाँ शैली
पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपाली नयाँ शैली अपनाउने निर्णय गरेको छ।
विगतका वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकहरुले जति पनि रुपैंया हाल्न पाइन्थ्यो। तर यसपाली एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछ। जसको लागि १० रुपैँया मात्र राख्न पाउने नियम बनाइएको छ।
अर्थात अब एक समर्थकले एक युजरबाट दिनमा १ पटक मात्र भोट हाल्न सक्नेछ। तर भोट भने प्रत्येक दिन हाल्न पाइनेछ।
‘विगतमा समर्थकले चाहे जति रकमको भोट एकसाथ हाल्न पाइन्थ्यो। यसले गर्दा योग्य उम्मेदवार भन्दा पनि अन्यले मौका पाउने आलोचना वढ्यो। मञ्चको उदेश्य नाफा कमाउने नभई योग्य उम्मेदवार अगाडि आउन भन्ने हो। त्यसैले यो नयाँ तरिका अपनाइएको हो। हामीलाई विश्वास छ, यो तरिकामा सबै पक्ष खुशी हुनेछ।’ मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले भने।
छानिने तरिका
विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट खल्ती बाई आइएमइमा प्राप्त मतका आधारमा चुनिने छ। भोटिङ पार्टनर आईएमई खल्तीको मतभार ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरुबाट प्राप्त मतको हुनेछ।
फेसबुकबाट मत दिंदा एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ। यो विधाका विजेताले पल्सर मोटरसाइकल जित्नेछ। गत वर्ष पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले प्राप्त गरेका थिए। ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ नै सुरु भइसकेको छ।










