काठमाडौं। अविरल वर्षासँगै आएको पहिरोले रोल्पाको थबाङ-५ कोटलबारामा घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बुधबार राति करिब पौने ९ बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो। पहिरोमा पुरिएर मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर छन्। घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिब २१ कोशको दुरीमा पर्छ ।
घटनाको खबर राति साढे ९ बजे पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयको सहयोगमा मध्यरात २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
थप उद्धार तथा खोजीका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट डीएसपी पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओसमेत १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री पनि बिहीबार बिहानै घटनास्थल पुगेका छन्।
घटनास्थलमा अहिले उद्धार तथा खोजी कार्य जारी छ। प्रारम्भिक विवरणअनुसार पहिरोमा १० जना पुरिएको खुले पनि घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण बेपत्ताको संख्या तथा क्षतिको थप विवरण यकिन हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।









