ब्राजिलसँग खेल्ने कि आसियानमा, दुईवटा टोली बनाएर टर्ला भारतीय फुटबलको धर्मसंकट?



बिजमाण्डू
२०८३ साउन २७ गते १५:३५ | Aug 12, 2026
ब्राजिलसँग खेल्ने कि आसियानमा, दुईवटा टोली बनाएर टर्ला भारतीय फुटबलको धर्मसंकट?
File Photo


काठमाडौं । भारतीय फुटबल टोलीले पाँचपटकको विश्वकप विजेता ब्राजिलसँग अक्टोबर ३ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। फिफा वरीयताको पाँचौँ स्थानमा रहेको ब्राजिलविरुद्ध खेल्न १३८ औँ स्थानमा रहेको भारत उत्साहित छ।

Tata
GBIME

तर, मैत्रीपूर्ण खेलको तालिका नजिकिँदै गर्दा भारत ‘धर्मसंकट’मा परेको छ। ब्राजिलसँगको खेल र एएसईएएन (आसियान) कपको मिति जुधेपछि भारत अफ्ठेरोमा परेको हो।

भारतीय फुटबल संघ (एआईएफएफ)का अनुसार भारतले ब्राजिलसँग अक्टोबर ३ मा कोलकाताको साल्ट लेक स्टेडियममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। सोही अवधिमा इन्डोनेसियामा फिफा एएसईएएन कप आयोजना हुँदैछ। आसियान कप सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म संचालन हुने तालिका छ।

भारतभित्र साफभन्दा माथि उठ्न नसकेको आरोप पटकपटक लाग्ने गर्छ। दक्षिण एसियाका कमजोर टोलीविरुद्ध दबदबा बनाएर टोली बलियो बनाउन नसकिने बहसका बीच भारतले साफ छाडेको चाहिँ छैन। दक्षिण एसियाली फुटबलको महासंग्राम साफ पनि नजिकिँदै छ।

त्यसबाहेक वर्षौंदेखि भारतीय फुटबलमा एउटै गुनासो सुनिँदै आएको विषय हो -पर्याप्त खेल भएनन्, बलिया प्रतिद्वन्द्वीविरुद्ध पर्याप्त खेल्न पाइएन र राष्ट्रिय टोलीले आफूलाई परीक्षण गर्ने पर्याप्त अवसर पाएन।

गत वर्ष भारतले जम्मा १० खेल मात्र खेलेको थियो। तर, अहिले लगभग अचानक परिस्थिति उल्टिएको छ। भारत यस्तो चरणमा प्रवेश गरेको छ, जहाँ उसले एउटै फिफा अन्तर्राष्ट्रिय विन्डोमा चार वा पाँच खेलसम्म खेल्न सक्ने अवस्था बनेको छ। लगत्तै साफ च्याम्पियसिप पनि आउँदैछ।

प्रशस्त अवसरसँगै जटिलता पनि आएको छ। जब धेरै फुटबल खेल्ने अवसर हुन्छ, त्यतिबेला महत्वपूर्ण प्रश्न तेर्सिएको छ- कुन खेललाई प्राथमिकता दिने?

भारतलाई गत महिना पहिलोपटक आयोजना हुन लागेको फिफा आसियान कपका लागि छनोट गरिएको थियो। प्रतियोगिता इन्डोनेसियामा सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म हुनेछ। भारतलाई आयोजक इन्डोनेसिया, मलेसिया र सिंगापुरसँगै समूहमा राखिएको छ। कागजमा हेर्दा यी तीनै टोली भारतको प्रतिस्पर्धात्मक स्तरसँग तुलनात्मक रूपमा नजिक छन्।

तर, भारतीय फुटबल संघले घोषणा गरेको पछिल्लो प्रतिद्वन्द्वी भने अर्कै स्तरको छ-ब्राजिल। मिति जुधेपछि भारतीय फुटबल संघ अफ्ठेरोमा परेको छ, कुन खेललाई बढी प्राथमिकता दिने?

बिहीबार बसेको कार्यसमिति बैठकपछि संघले दुवै प्रतियोगिताका लागि छुट्टाछुट्टै टोली मैदानमा उतार्ने घोषणा गरेको छ। एउटै खेलाडीलाई दुवै प्रतियोगितामा खेलाउनु व्यावहारिक नहुने भएकाले यस्तो निर्णय गरिएको हो।

‘ब्राजिलविरुद्धको खेल र फिफा आसियान कपका लागि छुट्टाछुट्टै टोली मैदानमा उतार्दै भारत दुवै प्रतियोगितामा सहभागी हुने जानकारी एआईएफएफले फिफालाई औपचारिक रूपमा दिनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ।

यससँगै भारतीय फुटबलसामु एउटा असामान्य प्रश्न खडा भएको छ- कहाँ बलियो टोली उतार्ने, ब्राजिलविरुद्धको एकल मैत्रीपूर्ण खेलमा कि आसियान कपको प्रतिस्पर्धात्मक यात्रामा?

फुटबल संघले ब्राजिलविरुद्धको खेललाई प्राथमिकता दिने तयारी गरिरहेको चर्चा भइरहेका बेला भारतका अधिकांश पूर्व प्रशिक्षक भने आसियान कपलाई प्राथमिकता दिनुपर्ने पक्षमा छन्। ब्राजिलविरुद्धको खेल महत्वपूर्ण भए पनि एकतर्फी हुने खेलले फुटबलको विकासमा धेरै फड्को भने नहान्ने तर्क गर्छन्।

पूर्व एफसी पुणे सिटी प्रशिक्षक प्रद्युम्न रेड्डीले ब्राजिलसँगको मैत्रीपूर्ण खेलको कुनै अर्थ नहुने बताएका छन्।

‘यसको वास्तविक मूल्य छैन। यसको विपरीत, आसियान कपले हामीलाई स्पष्ट अवसर दिन्छ। वर्षौंदेखि सबैले भारतले साफ कपभन्दा उच्च स्तरमा खेल्नुपर्छ भन्दै आएका छन्। अहिले हामीसँग एसियाली फुटबलको मध्यम स्तरका टोलीविरुद्ध खेल्ने अवसर आएको छ,’ उनले भनेका छन्,’ अहिले हामीले खोजिरहेको त्यही एक्सपोजर पाएका छौँ-इन्डोनेसिया, सिंगापुर र मलेसिया। अनि हामी यही अवसरबाट पछि हट्ने?’

मोहन बगानलाई आई–लिगको उपाधि जिताएका प्रशिक्षक सञ्जय सेन पनि लगभग उस्तै निष्कर्षमा पुगेका छन्।

‘ब्राजिलसँगको खेलले के उद्देश्य पूरा गर्छ? हाम्रो प्राथमिकता आसियान कप हुनुपर्छ। यदि हामीले इन्डोनेसियाजस्तो टोलीलाई हराउन सक्छौँ भने प्रशिक्षकका रूपमा म भारतीय फुटबल विकास र सुधारको दिशामा कम्तीमा एक पाइला, अथवा आधा पाइला अगाडि बढेको मान्नेछु।’ उनले भने।

पूर्व भारतीय डिफेन्डर तथा हाल मोहम्मदन एससीका प्रशिक्षक मेहराजुद्दिन वाडू पनि एसेयान कपलाई नै प्राथमिकता दिनुपर्ने बताउँछन्।

‘हाम्रो प्राथमिकता शतप्रतिशत आसियान कप हुनुपर्छ। पहिलो कुरा, यो प्रतिस्पर्धात्मक खेलहरूको शृंखला हो। यहाँ उपाधि जित्ने, पुरस्कार राशि प्राप्त गर्ने र महत्वपूर्ण अनुभव हासिल गर्ने अवसर छ,’ उनले भने, ‘म ब्राजिलियन फुटबल मन पराउने व्यक्ति भएकाले ब्राजिल भारत आउँदैछ भन्नेमा खुसी छु। तर फुटबलको दृष्टिकोणबाट हेर्दा हाम्रो ध्यान ब्राजिलमा हुनु हुँदैन।’

तर पूर्व भारतीय खेलाडी तथा इन्डियन एरोजका प्रशिक्षक फ्लोयड पिन्टो भने फरक धारणा राख्छन्।

‘म यसलाई सकारात्मक रूपमा हेर्न चाहन्छु। कुन सिनियर खेलाडी ब्राजिलविरुद्धको खेल गुमाउन चाहन्छ? उनीहरूले भिनिसियस जुनियरजस्ता खेलाडीविरुद्ध खेल्न सक्छन्। यो जीवनमा एकपटक मात्र आउने अवसर हो,’ उनले भने।

उनका अनुसार आसियान कप पनि राम्रो अवसर हो। तर भारतले युवा खेलाडीलाई पर्याप्त अवसर किन नदिएको भन्ने प्रश्न सधैँ उठाउँदै आएको अवस्थामा ब्राजिलविरुद्धको खेल त्यसका लागि राम्रो अवसर बन्न सक्छ।

यद्यपि, भारतले आसियान कपलाई दोस्रो प्राथमिकतामा राख्न सक्ने अवस्था छैन। यो प्रतियोगिता फिफाले आयोजना गर्ने भएकाले इन्डोनेसियामा दोस्रो दर्जाको टोली पठाउनु व्यावहारिक रूपमा निकै कठिन हुनेछ।

भारतले आफ्नो भूमिमा अहिलेसम्म शीर्ष पाँचभित्र रहेको टोलीसँग खेलेको छैन। त्यसैले अक्टोबर ३ को खेललाई भारतीय फुटबलका लागि ठूलो अवसरका रूपमा हेरिएको छ।

ब्राजिलविरुद्धको खेलमा भारतले आफ्नो बलियो टोली उतार्ने सम्भावना छ भने आसियान कपमा अर्को टोली पठाउने देखिन्छ। यसका लागि खेलाडी व्यवस्थापन, प्रशिक्षण तथा दुवै टोलीको तयारी भारतीय फुटबल संघका लागि महत्वपूर्ण चुनौती बन्नेछ। तर, दुईवटा टोली बनाउन सक्ने गरीको ‘डेप्थ’ भारतीय फुटबलमा नभएको जानकारहरु बताउँछन्।