कामना सेवा विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत नगद दिने

बिजमाण्डू
२०८३ साउन २२ गते १९:५२ | Aug 7, 2026
कामना सेवा विकास बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत नगद दिने


काठमाडौं। कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

GBIME
Tata

बैंक सञ्चालक समितिको शुक्रबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

असार मसान्तको वासलात, गत आव २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमाथि छलफल गरी वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांशको निर्णय गरेको बैंकले जनाएको छ।

बैंकको चुक्ता पुँजी हाल ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ छ। त्यसमध्ये अग्राधिकार सेयर पुँजी ३५ करोड रुपैयाँ हो। अग्राधिकार सेयरमा लगानी गर्नेले ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार रुपैयाँ लाभांश पाउनेछन्।

अरु लगानीकर्ताले साधारण सेयर पुँजी ३ अर्ब ८६ करोड १९ लाखको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ लाभांश पाउनेछन्।

नेपाल राष्ट्र बैंकको स्वकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

कामना सेवा गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो विकास बैंक हो। बैंकले गत आर्थिक वर्ष नाफा ३३.५१ प्रतिशत बढाएर ८९ करोड ४१ लाख रुपैयाँ कमाएको थियो।