काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-५ बस्ने सुर्खेत घर भएका ४६ वर्षीय धना तिवारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-४ बस्ने बागलुङ घर भएका ३३ वर्षीय राम बहादुर खड्का र काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ बस्ने दार्चुला घर भएका ३० वर्षीय सुबोध जंग कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
धनाले न्यूजिल्याण्ड पठाइदिने भन्दै ५ जनाबाट १६ लाख रूपैयाँ, राम बहादुरले जर्मनी पठाइदिने भन्दै १ जनाबाट २५ लाख रूपैयाँ र सुबोधले यूएई पठाइदिने भन्दै १ जनाबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धनालाई सूर्यविनायक-५ बाट बुधबार तथा राम बहादुरलाई चाँगुनारायण-६ बाट र सुबोधलाई काठमाडौं-१२ बाट बिहीबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।










