काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर बेलायत पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका-३१ बस्ने धनुषाको जनकनन्दिनी गाउँपालिका-२ घर भएका २६ वर्षीय रिजवान शेषलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार रिजवानले बेलायत पठाइदिने भन्दै ७ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।









