तराईको तनावले औद्योगिक सामग्रीको ढुवानीमा समस्या, ‘अर्डर लिइरहेका छैनन् ढुवानीकर्ता’



बिजमाण्डू
२०८३ साउन १४ गते १९:५८ | Jul 30, 2026
तराईको तनावले औद्योगिक सामग्रीको ढुवानीमा समस्या, ‘अर्डर लिइरहेका छैनन् ढुवानीकर्ता’
File Photo


विराटनगर । तराई मधेस क्षेत्रमा भइरहेको दंगाका कारण पूर्वको औद्योगिक व्यावसायिक ढुवानीमा धक्का पुगेको छ। मुख्य राजमार्गमा भइरहेका दंगा र सरकारले लगाएको कर्फ्यूका कारण औद्योगिक व्यापारिक सामग्रीको ढुवानीमा समस्या भएको हो।

Tata
GBIME

सीएनआई कोशीका अध्यक्ष पवनकुमार शारडाले सुनसरी मोरङ औद्योगिक क्षेत्र र कटहरी औद्योगिक क्षेत्रका उद्योगले सोमबारदेखि नै लजिस्टिकको समस्या भोगिरहेको बताए।

अध्यक्ष शारडाका अनुसार कोशी प्रदेशका साना ठुला गरी करिब १ हजार उद्योग ढुवानी समस्याको चपेटामा परेको उल्लेख गरे।

उनले सोमबार र मंगलबार राति प्रहरीको सुरक्षा र एस्कर्टिङमा केही सामान ढुवानी गरिएको जानकारी दिए। यसैबीच धरान–विराटनगर राजमार्गमा पर्ने सुनसरीको दुहबीमा बुधबारदेखि कर्फ्यू लागेपछि दुहबी र इटहरी नगरपालिका क्षेत्रभित्र पर्ने उद्योगको ढुवानीमा संकट थपिएको छ। दुहबी र इटहरी नगरपालिका क्षेत्रभित्र मात्र ५०० भन्दा बढी उद्योग छन्।

सिराहाको लहान र गोलबजारमा बिहीबार भएको प्रदर्शन र त्यसपछि लगाइएको कर्फ्यूले झन् ठुलो असर पारेको व्यवसायी बताउँछन्। यसका कारण पूर्वपश्चिम बीच हुने सामानको ढुवानी बन्द भएको छ।

अध्यक्ष शारडाले भने, ‘अहिले कोशी प्रदेशका उद्योगले वस्तुको उत्पादन गर्दै थन्क्याउँदै मात्र गरिरहेका छन्। कुनै उद्योगले सोमबारदेखि नै ढुवानी गर्न पाएका छैनन् भने कुनैले बुधबारदेखि। आजसम्म आइपुग्दा पूर्वको औद्योगिक व्यावसायिक ढुवानीमा ८० प्रतिशतभन्दा बढी समस्या आइसकेको छ।’ 

उनले उद्योगीले श्रमिक तथा कर्मचारीलाई बिना उत्पादन पारिश्रमिकको भुक्तानी गर्नुभन्दा उद्योग चलाउनु नै बेस ठानेर मात्र कारखाना संचालन गरिरहेको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले प्रदर्शन र कर्फ्यूका कारण तयारी वस्तुको ओसारपसार मात्र नभई कच्चापदार्थको ढुवानीमा पनि समस्या आएको जानकारी दिए। राठीका अनुसार खासगरी सुनसरीको दुहबी, इटहरी नगरपालिका क्षेत्रमा पर्ने करिब ५ सय उद्योगमा बुधबारदेखि कच्चापदार्थ लैजान गाह्रो भइरहेको छ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले पूर्वका सामान पूर्वमै र पश्चिमका सामान पश्चिममै थन्किरहेको बताए। उनले ढुवानी व्यवसायीले नै वस्तुको ढुवानी गर्न नमानेको उल्लेख गरे।

राठीले भने, ‘ढुवानीको अर्डर लिन ढुवानीकर्ता मानिरहेका छैनन्। बाटामा असुरक्षा पनि छ। यस्तो बेला पहिले अर्डर आएका सामान पुर्‍याउन अप्ठ्यारो भइरहेको छ।’