काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
सुनसरी घटनालाई लिएर तराईमा आन्दोलन चर्किएपछि सीएनआईले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुता कायम राख्न आग्रह गरेको हो।
सीएनआईले आफ्ना प्रदेश तथा जिल्ला संघलाई अरुसँग मिलेर सद्भाव र्याली निकाल्न समेत आग्रह गरेको छ।
‘कुनै पनि समस्या, असन्तुष्टि वा विवाद वार्ताका माध्यमबाट समाधान भएको उदाहरण प्रशस्त छन्। त्यसैले कुनै पनि समस्याको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नहुने हुँदा संयमता अपनाई आपसी सद्भाव कायम राखी मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न परिसंघ सबैमा आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
सीएनआईले मुलुकको अर्थतन्त्र अप्ठेरोमा रहेको अवस्थामा आन्दोलनले थप निराशा बढाउने बताएको छ। सीएनआईले उद्योग व्यवसायलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
‘मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ। रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता घटनाले सबैलाई निराश बनाउँछ। आन्दोलनका क्रममा जनधनको क्षतिसहित सार्वजनिक एवं निजी सम्पत्तिमाथि तोडफोड, बजार, पसल बन्द गराउने तथा लुटपाटको घटनाले अत्यन्त दुखित एवं चिन्तित बनाएको हुँदा आम नागरिक तथा उद्योग व्यवसायलाई पूर्ण सुरक्षाको प्रत्याभूती दिलाउन समेत परिसंघ नेपाल सरकार तथा सरोकारवाला सबै समक्ष अनुरोध गर्दछ,’ सीएनआईले भनेको छ।










