काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार ३० भन्दा बढी उद्योगीलाई एकसाथ भेटेर निजी क्षेत्रका समस्या समाधानका लागि डेस्क स्थापना गर्ने बताएका छन्।
उनले उत्पादनमूलक उद्योग चलाइरहेका ठूला उद्योगीसँग छलफलमा उठेका विषय सम्बोधन गर्न ‘रेस्पोन्स डेस्क’बनाउने प्रतिबद्धता जनाएका हुन्।
‘तपाइँहरूका माग हामीले सिरियसली नोट गरेका छौं। यसलाई सम्बोधन गर्नका लागि के गर्न सकिन्छ मन्त्रालय तयार छ। एउटा डेस्क नै बनाएर यी सबै विषय समन्वय गर्नेछौं,’ उनले भने।
उनले उद्योगीका समस्या जोडिएका विषय समाधानका लागि डेस्कले सम्बन्धित मन्त्रालयसँग र उद्योगीबीच समन्वय गर्न उच्च प्राथमिकता दिने बताए।
‘अधिकतम लगानीमैत्री र व्यवसायीमैत्री मुलुकका रुपमा नेपाललाई चिनाउने मेरो पहल छ। निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता हो भन्नेमा सरकार प्रतिबद्ध छ,’ अर्थमन्त्रीले भने।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले उच्च मनोबलका साथ लगानी बढाउन र उत्पादन गर्न तयार भएमात्रै नेपालको आर्थिक समृद्धि सम्भव भएको बताए।
‘सञ्चालनमा रहेका उद्योगले उत्पादन क्षमता अधिकतम उपयोग गर्ने, आत्मविश्वासका साथ उद्योग विस्तार गर्ने र नयाँ उद्योग तथा लगानी बढाउन सरकारको सम्पूर्ण प्रयास केन्द्रित छ,’ उनले भने।
उत्पादन लागत घटाउन, जग्गा, बिजुली, ढुवानी र बजारका प्रमुख अवरोध हटाउन व्यावहारिक तथा नीतिगत पहल गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको वाग्लेले बताए।
चालु आर्थिक वर्षको बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र बजेट कार्यान्वयनका लागि उद्योग तथा सरकारले गर्नुपर्ने समन्वयका बारेमा छलफल भइरहेको छ। उद्योगीहरूले आफ्ना समस्या र योजना मौखिक तथा लिखितरूपमा अर्थमन्त्रीसमक्ष राखेका छन्।










