काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ८३ वर्षीय उनको ललितपुरको जावलाखेलस्थित एक अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पुष्टि गरे।
‘रहनुभएन वरिष्ठ नेता गोपालमान श्रेष्ठ ! उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा,’ उपसभापति शर्माले भनेका छन्।
कांग्रेस सभापति गगन थापाले नेता श्रेष्ठलाई कांग्रेसले वरिष्ठ नेता बनाउने प्रस्ताव अघि सारेका थिए। श्रेष्ठको दाहसंस्कार बुधबार गरिने भएको छ। श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने छ, त्यसपछि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ।
स्याङ्जाका नेता श्रेष्ठ कांग्रेसमा उपसभापतिसम्म भएका थिए भने पटकपटक मन्त्री बनेका थिए। विद्यार्थी बेलामा २०१७ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६ को जनमतसंग्रह,२०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२/६३ को जनआन्दोलन-२ मा सक्रिय थिए।
पार्टीका उपसभापतिसम्म भएका श्रेष्ठ स्याङ्जा-१ का पूर्वसांसद थिए। २०४८ र २०५६ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। विगतमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योगमन्त्री पनि भएका थिए। संसद्मा पार्टीको संसदीय दलको प्रमुख सचेतकसमेत रहिसकेका उनी पूर्वसभापति शेरबहादुर देउवा निकट मानिन्थे।
गिरिजाप्रसाद कोइरालासँगको मतभेदसँगै देउवाले पार्टी विभाजन गर्दै कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा श्रेष्ठ कार्यवाहक सभापति पनि भएका थिए। पछिल्लो पटक विशेष महाधिवेशनबाट बनेको कार्यसमितिप्रति पुराना खेमाका नेताहरु आक्रामक भइरहँदा श्रेष्ठको भूमिका संयमित देखिएको थियो।










