बलिउड अभिनेता टाइगर श्राफ अब चलचित्रको पर्दाबाट फुटबल मैदानमा देखिन सक्ने भएका छन्। भारतको प्रतिष्ठित डुरान्ड कपका लागि मुम्बई एफसीले आफ्नो टोलीमा श्राफलाई दर्ता गरेसँगै उनी व्यवसायिक फुटबलमा डेब्यु गर्ने सम्भावना बढेको चर्चा भारतीय सञ्चारमाध्यममा छ।
क्लबका सह-मालिक जोहेब अमरानीका अनुसार श्राफ हाल टोलीसँग नियमित प्रशिक्षणमा छन्। सबै तयारी पूरा भएमा उनी समूह चरणका कम्तीमा एक खेलका लागि टोलीसँगै शिलोङको यात्रा गर्नेछन्।
‘टाइगर टोलीमा आधिकारिक रूपमा दर्ता भइसकेका छन्। उनको यात्राको तयारी गरिरहेका छौं। उनीजस्तो चर्चित व्यक्तिलाई लिएर दोस्रो वा तेस्रो टायरका सहरमा सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ। भीडभाड र सामाजिक संजालका कारण अवस्था जटिल बन्न सक्ने भएकाले सबै पक्षलाई ध्यानमा राखेका छौं,’ उनले भने।
उनका अनुसार श्राफसँग समय मिलिसकेको छ र सबै कुरा योजना अनुसार भए उनी कम्तीमा एउटा खेलका लागि टोलीसँग जानेछन्।
सन् २०२४ मा मुम्बई एफसी स्थापना भएदेखि नै श्राफ क्लबसँग आबद्ध छन्। उनले मुम्बई डिस्ट्रिक्ट लिगमा पनि टोलीका लागि नियमित रूपमा खेलेका छन्।
अमरानीले पहिलो पटक सन् २०२३ मा रणबीर कपूर र महेन्द्र सिंह धोनीलगायत चर्चित व्यक्तिहरू सहभागी भएको एक इन्फ्लुएन्सर लिगमा श्राफको खेल हेरेका थिए।
‘त्यही खेलमा मैले महसुस गरें कि टाइगरसँग फुटबलको राम्रो प्राविधिक ज्ञान छ। उनलाई ड्रिब्लिङ, एक–विरुद्ध एक खेल र स्लाइड ट्याकल निकै मनपर्छ,’ उनले भने।
पछि क्लब स्थापना भएपछि अमरानीले श्राफलाई अभ्यासमा बोलाएका थिए। त्यसपछि श्राफले व्यवसायिक रूपमा फुटबल खेल्ने इच्छा व्यक्त गरेका थिए।
अमरानीले सुरुमा मजाक ठाने पनि श्राफ गम्भीर रहेको बुझिएपछि उनलाई सेन्ट्रलाइज्ड रजिस्ट्रेसन सिस्टम (सीआरएस) मा दर्ता गराइएको थियो।
‘मैले उनलाई यो साधारण प्रतियोगिता नभएको, यहाँ आधिकारिक दर्ता, परिचयपत्र र रेफ्रीको निगरानी हुने कुरा सम्झाएँ। उनी निकै व्यावसायिक रूपमा प्रस्तुत भए,’ अमरानीले बताए।
मुम्बइ एफसीले डुरान्ड कपका सबै समूह चरणका खेल शिलाङस्थित जवाहरलाल नेहरू स्टेडियममा खेल्नेछ।
श्राफ मैदानमा उत्रिने वा नउत्रिने कुरा अन्तिम व्यवस्थापनमा निर्भर रहने भए पनि उनको सम्भावित सहभागिताले प्रतियोगिताप्रति ठूलो आकर्षण बढाउने अपेक्षा गरिएको छ।
यो प्रतियोगिताका पछिल्ला संस्करणहरुमा नेपालबाट त्रिभुवन आर्मी क्लबले नियमित सहभागिता जनाउँदै आएको भए पनि यसपाला भने सहभागी हुने छैन। यसपालमा फिफाले एन्फामाथि प्रतिबन्ध लगाएका कारण आर्मीले डुराण्ड कप खेल्ने अवसर गुमाएको हो।
यो भारतीय फुटबल संघ र त्यहाँको सेनाले गर्ने एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो। यो प्रतियोगितामा आईएसएल, आईलिगका क्लबसाथै नेपालबाट त्रिभुवन आर्मी क्लबसँगै भारतीय आर्मी लगायतको सहभागिता रहने गर्छ। सन् १८८८ मा आर्मीको रेजिमेन्टबीचबाट यो प्रतियोगिता सुरु भएको थियो।










