काठमाडौं। नेपाली क्रिकेट टोली नामिबियासँग पराजित भएको छ। अन्तिम बलमा गुल्सन झा छक्का प्रहार गर्न चुकेसँगै नेपाली क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा पनि पराजित भएको हो।
लगातार दुई खेलको हारले भएको ‘ड्यामेज कन्ट्रोल’ गर्नै पनि जित्नै पर्ने दवाबमा ‘हेभी ब्याटिङ’ लिएर उत्रिएको नेपाली टोली नामिबियासँग ३ रनले पराजित हुन पुग्यो। यसअघिका दुई खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले आज भने टस जितेर फिल्डिङ रोजेको थियो।
सुरुवाती ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ६ विकेट गुमाएर २०८ रनमा समेटियो।
पहिला ब्याटिङ गरेको नामिबियाका लागि जन फ्राइलिंकले सर्वाधिक १०० रन बनाउँदा लोउरेन स्टेनकाम्पले ५९ रन बनाए। बलिङमा करण केसीले ५ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए। टोलीलाई ब्याटिङ हेभी बनाउन बलर ललित राजवंशीको स्थानमा ब्याटर भीम सार्कीलाई स्थान दिइएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल ६ विकेट गुमाएर २०८ रनमा समेटियो। अन्तिम बलमा नेपाललाई छक्का चाहिएकोमा क्रिजमा रहेका बिस्फोटक ब्याटर गुल्सन झा असफल रहे। नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन बनाउँदा रोहित पौडेलले ४१, आरिफ शेखले अविजित ३८ तथा कुशल भुर्तेलले ३४ रन बनाए। बलिङमा नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिँदा रुबेन ट्रम्पलमनले २ विकेट लिए।
नेपाललाई हराउँदै नामिबिया २६ अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिँदा २४ अंकसहितको नेपाल छैटौँ स्थानमा झरेको छ। नेपाली टोलीले शतप्रतिशत जितसहित तालिकाको तेस्रो स्थानमा पुग्ने लक्ष्य सिरिजअघि लिएको थियो।
नेपालले सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।










