काठमाडौं। सुनसरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू अवज्ञा भए पछि सेना परिचालन गरिएको छ। आज बिहान ७ बजेदेखि सुनसरी जिल्लाको दक्षिण-पश्चिमका विभिन्न क्षेत्र तोकेर कर्फ्यू आदेश जारी भएको थियो।
आइतबार भएको झडपलाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो। तर, स्थानीय समुदायले कर्फ्यू उल्लंघन गरेपछि अवस्था सामान्य हुन सकेको छैन।
इनरुवाबाट दक्षिणको देवानगञ्ज-३ कप्तानगन्जमा आइतबार बेलुकी दुई समुदायबीच झडप भएको थियो। बोलबमको तीर्थ निस्केको टोलीले ठूलो आवाजमा गीत बनाउँदै गर्दै हिँडेका विषयमा भएको विवाद झडपमा परिणत भएको थियो।
अवस्था नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। त्यसक्रममा ९ जना स्थानीय र १३ जना सुरक्षाकर्मी घाइते भएका थिए।
सुनसरी जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले जिल्लाका विभिन्न स्थानमा निषेध आदेश पनि जारी गरेको छ। हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा उक्त आदेश जारी गरिएको हो।
त्यस्तै सुरक्षाको विषयलाई लिएर गृहमन्त्रालयले पनि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।










