काठमाडौं। नेपाली क्रिकेट टोली फेरि पराजित भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको हो।
नेदरल्याण्ड्समा जारी सिरिजको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा आज घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो।
यी दुबै खेलमा सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभर नखेल्दै १५७ रनमा अलआउट भएका थियो। दुबै खेलमा शीर्षक्रमका ब्याटरले बिर्सनललायक प्रदर्शन गरे। त्यस्तै, बलिङसँगै फिल्डिङ पनि नेपालको उत्तिकै कमजोर रह्यो।
आज टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.४ ओभरमा बनाएको १५७ रनलाई नेदरल्याण्डले ५ विकेट गुमाउँदै ४४.१ ओभरमा सजिलै भेट्टायो। नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक अविजित ६१ रन बनाउँदा नोअ क्रोएसले अविजित ३४ रन बनाए। बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान १ विकेट लिए पनि टोलीलाई कुनै पनि बेला दवाबमा ल्याउन सकेनन्। उसो त ब्याटरले बोर्डमा ठीकठाक लक्ष्य नै जोड्न नसक्दा बलरबाट मात्रै रोक्न सकिने स्थिति भने थिएन। मध्यक्रममा आएका आरिफ शेखले साझेदारी बनाउँदै इनिङ्स उकास्ने भरपुर प्रयास गरेका थिए।
कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डेजस्ता शीर्ष क्रमका ब्याटर आज पनि फ्लप हुँदा नेपालको सुरुवात अत्यन्तै कमजोर भएको थियो।
नेपालले ११.५ ओभरमा ४ विकेट गुमाएर मात्रै ४२ रन बनाएको थियो। नेपालको इनिङ्स उकास्न आरिफ शेखले संयमित ब्याटिङ गरे। उनले सर्वाधिक ४१ रन बनाउँदा गुल्सन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए।
बलिङमा नेदरल्याण्ड्सका एलेक्स रोय र रोएलोफ भान मेर्वीले समान ३ विकेट लिँदा लोगान भान विकले २ तथा केल क्लिइनले १ विकेट लिए।
नेपालले अब सिरिजमा दुई खेल खेल्न बाँकी छ। आगामी खेलमा सोमबार नेपाल नामिबियासँग भिड्नेछ। लगातार जिम्मेवार खेलाडी फ्लप भइरहँदा अर्को खेलमा ब्याटिङमा बिनोद भण्डारी र अर्जुन कुमालमध्ये एकले अवसर पाउने सम्भावना छ। त्यस्तै, शीर्षक्रममा भीम सार्कीको पनि सम्भावना छ।
जितसँगै तेस्रो स्थानको नेदरल्याण्ड्सले ३४ अंक बनाएको छ। नेपाल २४ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।









