पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, गोल्छा ग्रुपसँग पाँच मोटरसाइकल सहित ४५ लाखको सम्झौता



बिजमाण्डू
२०८३ साउन ६ गते १६:०७ | Jul 22, 2026
पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, गोल्छा ग्रुपसँग पाँच मोटरसाइकल सहित ४५ लाखको सम्झौता


काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’को २३औं संस्करण भदौ १८ हुने भएको छ। यसपालिको संस्करण नेपाल पुलिस क्लबमा गरिने भएको छ।

Tata
GBIME

अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता गरेको छ। गोल्छा ग्रुप लगातार १९औं पटक अवार्डसँग जोडिएको हो।

सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे। हस्ताक्षरपछि निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी लागेको भन्दै नेपाली खेलकुदको स्तर वृद्धि गर्न आफूहरु निरन्तर लागिपरेको बताए।

मञ्च र गोल्छा ग्रुपबीच ४५ लाख रुपैयाँ बराबरको सम्झौता भएको छ। गोल्छाले अघिल्लो वर्षभन्दा नगद ५ प्रतिशत र मोटरसाइकलमा १० प्रतिशत रकम वृद्धि भएको जनाए।

‘यसपालि हामीले १७ लाख रुपैयाँ क्यास र पाँचवटा मोटरसाइकल प्रदान गर्दैछौँ। चारवटा एनएस २०० र एउटा एन २५० बाइक स्पोन्सर गरेका छौं,’ उनले भने।

मञ्चका अध्यक्ष अधिकारीले अघिल्लो संस्करण काठमाडौंबाहिर सफलरुपमा आयोजना गरे पनि ब्याकटूब्याक काठमाडौंबाहिर ठूलो रकम खर्चिएर इभेन्ट आयोजना गर्न मञ्चले सक्ने स्थिति नरहेको बताए।

यो वर्ष ९ विधामा अवार्ड प्रदान गरिनेछ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड वितरण गरिनेछ।  

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा विजेताको घोषणा अवार्ड वितरणकै दिन हुनेछ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने तथा अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ।