काठमाडौं। नेपाली क्रिकेट टोलीले नामिबियाविरुद्ध फितलो ब्याटिङ गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिदेशीय सिरिजको आफ्नो पहिलो खेलमै नेपालले कमजोर ब्याटिङ गरेको हो।
नेदरल्यान्ड्सको उट्रेचस्थित काम्पोङ क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४६.५ ओभरमा अलआउट हुँदै १५७ रन बनायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३०, गुल्सन झाले २० तथा करण केसीले १८ रन बनाए। बलिङमा नामिबियाका जेजेस्मिथले ६ विकेट लिँदा ज्याक ब्रासेल र बनार्ड स्क्लचले समान २ विकेट लिए।
स्मिथले ९.५ ओभर बलिङ गर्दा मात्रै २७ रन दिएर कुशल भुर्तेल, इशान पाण्डे, सोमपाल कामी, गुल्सन झा, करण केसी र नन्दन यादवलाई पभेलियन फर्काए।
अंकतालिकामा स्थान सुधार्न चर्को दवाबमा रहेको नेपालको साख जोगाउन अब बलरमाथि ठूलो जिम्मेवारी हुनेछ। नामिबिया जवाफी ब्याटिङमा उत्रिएको छ।










