युवा पलायनको कारण स्वदेशमा बेरोजगारी मात्रै होइन, अवसरमा अझै छ पहुँचको समस्या



बिजमाण्डू
२०८३ साउन ४ गते ०६:०० | Jul 20, 2026
युवा पलायनको कारण स्वदेशमा बेरोजगारी मात्रै होइन, अवसरमा अझै छ पहुँचको समस्या


हरेक बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयौँ युवा नयाँ भविष्यको खोजीमा विदेश उड्छन्। त्यही समयमा देशभित्रका धेरै उद्योग, होटल, निर्माण कम्पनी र कृषि उद्यमले आवश्यक जनशक्ति नपाएको गुनासो गरिरहेका हुन्छन्।

Tata
GBIME

एउटै देशमा काम खोज्ने युवा र कामदार खोज्ने रोजगारदाता सँगसँगै देखिनु केवल विडम्बना होइन, नेपालको विकास बहसलाई नयाँ दृष्टिले हेर्नुपर्ने गम्भीर संकेत पनि हो।

केही दिनअघि मैले ‘विकासमा यक्ष प्रश्न : पूर्वाधार बढेपनि नेपालमा अवसरहरू सीमित भएका हुन्?’ शीर्षकमा एउटा लेख लेखेको थिएँ। मैले विकासलाई केवल आय, पूर्वाधार वा आर्थिक वृद्धिको दृष्टिकोणबाट मात्र होइन, अवसरहरूको विस्तारको दृष्टिकोणबाट पनि हेर्नुपर्ने तर्क गरेको थिएँ।

बिजमाण्डूमा प्रकाशित लेखमा केही रोचक प्रतिक्रिया आए। कतिपयले भने- नेपालको मुख्य समस्या अवसरको अभाव हो। कतिपयले मुख्य समस्या रोजगारीको अभाव हो र, केहीले अर्को प्रश्न उठाए- के यी दुई कुरा एउटै हुन्?

नेपालको विकास बहसमा हामीले ‘रोजगारी’को बारेमा धेरै कुरा गरेका छौँ, तर ‘अवसर’का बारेमा अपेक्षाकृत कम कुरा गरेका छौँ। हामीकहाँ विकास, रोजगारी र युवा पलायनबारे हुने अधिकांश बहस एउटा साझा निष्कर्षमा पुग्छ – नेपालमा रोजगारी छैन। युवाहरू भन्छन्, ‘काम पाइँदैन।’ अभिभावकहरू भन्छन्, ‘भविष्य विदेशमा छ।’

नीतिनिर्माताहरू रोजगारी सिर्जनाका कार्यक्रम घोषणा गर्छन्। राजनीतिक दलहरू रोजगारीलाई चुनावी एजेन्डा बनाउँछन्। पहिलो नजरमा समस्या स्पष्ट देखिन्छ- नेपाल बेरोजगारीको समस्यासँग जुधिरहेको छ। तर के वास्तवमै समस्या यति सरल छ? यदि नेपालमा रोजगारी छैन भने उद्योगीहरू किन भन्छन्, ‘दक्ष जनशक्ति पाइएन।’

यदि काम छैन भने होटल, उद्योग, निर्माण क्षेत्र, कृषि उद्यम र सूचना-प्रविधि क्षेत्रका रोजगारदाताहरू किन जनशक्ति खोजिरहेका छन्? यदि जनशक्ति छैन भने हरेक वर्ष हजारौँ युवा वैदेशिक रोजगारीको खोजीमा किन निस्किरहेका छन्? यी प्रश्नहरू एकअर्कासँग विरोधाभासी जस्ता देखिन्छन्। तर, सम्भवतः तिनीहरूले एउटा गहिरो वास्तविकता संकेत गरिरहेका छन्।

युवासँग ऊर्जा छ, सपना छन्। तर, ती सपनालाई सम्भावनामा रूपान्तरण गर्ने संरचनाहरू अझै कमजोर छन्। यसैले अवसरको ग्याप भनेको केवल व्यक्तिको समस्या होइन। यो संस्थागत समस्या पनि हो।

सायद नेपालको समस्या केवल काम अभाव (जब ग्याप) होइन। सायद नेपालको समस्या अवसर अभाव (अपरचुनिटी ग्याप) पनि हो। अर्थात् क्षमता र अवसरबीचको दूरी। सीप र रोजगारीबीचको दूरी। शिक्षा र उद्योगबीचको दूरी। अनुसन्धान र नीतिबीचको दूरी। उद्यमशीलता र वित्तीय पहुँचबीचको दूरी। र यहीँबाट अर्को महत्त्वपूर्ण प्रश्न सुरु हुन्छ- रोजगारी र अवसर एउटै कुरा हुन्?

नेपालमा बेरोजगारीको तथ्यांकबारे धेरै बहस हुन्छ। तर कमै सोधिने प्रश्न हो- रोजगारी भनेको वास्तवमा के हो? अझ महत्त्वपूर्ण प्रश्न- के रोजगारीको अभाव र अवसरको अभाव एउटै कुरा हुन्?

मानौँ, कुनै युवाले विश्वविद्यालयको डिग्री प्राप्त गर्‍यो। उसले ४ वर्ष अध्ययन गर्‍यो, परीक्षा पास गर्‍यो, प्रमाणपत्र पनि पायो तर त्यसपछि उसले आफ्नो ज्ञान प्रयोग गर्ने अवसर पाएन। न अनुसन्धानमा प्रवेश गर्न सक्यो, न उद्योग सुरु गर्न र जोडिन सक्यो, न त आफ्नो सीपलाई बजारसँग जोड्न सक्यो। के उसको समस्या केवल रोजगारीको अभाव हो? वा अवसरहरूको अभाव पनि हो?

अर्कोतर्फ, एउटा उद्योगलाई हेरौँ। उद्योग विस्तार गर्न चाहन्छ। नयाँ लगानी गर्न चाहन्छ। नयाँ उत्पादन सुरु गर्न चाहन्छ। तर, आवश्यक सीप भएका प्राविधिक, सुपरभाइजर वा व्यवस्थापक पाउन सक्दैन। के उसको समस्या केवल श्रमिकको अभाव हो? वा शिक्षा, सीप र उद्योगबीचको कमजोर सम्बन्धको परिणाम हो? यही कारणले हाम्रो विकास बहसमा रोजगारीभन्दा पनि अवसर भन्ने शब्द बढी महत्त्वपूर्ण हुन सक्छ। किनकि रोजगारी अवसरको एउटा रूप हो।

तर, अवसर केवल रोजगारी मात्र होइन। अवसर भनेको- सिक्ने अवसर। सीप विकास गर्ने अवसर। अनुसन्धान गर्ने अवसर। व्यवसाय सुरु गर्ने अवसर। बजारमा पहुँच पाउने अवसर। वित्तीय सेवामा पहुँच पाउने अवसर। नवप्रवर्तन गर्ने अवसर र आफ्नो सम्भावना उपयोग गर्ने अवसर।

सायद यही कारणले अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनले विकासलाई केवल आय वा रोजगारीको दृष्टिकोणबाट होइन, मानिसहरूले आफ्नो जीवनका सम्भावनाहरू कति विस्तार गर्न सके भन्ने दृष्टिकोणबाट हेरे। उनका अनुसार वास्तविक प्रश्न यस्तो हो- मानिससँग के छ भन्दा पनि के गर्न सक्छ र के बन्न सक्छ? मेरो बुझाइमा अपर्चुनिटी ग्याप भनेको क्षमता र अवसरबीचको दूरी हो। अर्थात् मानिससँग सम्भावना त हुन्छ, तर त्यसलाई उपयोग गर्ने अवसर हुँदैन।

नेपालमा यस्तो अवस्था धेरै ठाउँमा देख्न सकिन्छ। हामीसँग हजारौँ स्नातकहरू छन्। तर उद्योगहरू भन्छन्- उनीहरूलाई आवश्यक सीप भएका मानिसहरू पाइँदैनन्। हामीसँग कृषि भूमि छ। तर, धेरै ठाउँमा खेती गर्ने मानिसहरू छैनन्। हामीसँग बैंकिङ प्रणालीमा तरलता छ। तर, साना तथा मझौला उद्यमीहरू वित्तीय पहुँचको अभावको गुनासो गर्छन्।

हामीसँग विश्वविद्यालयहरू छन्। तर, अनुसन्धान, नीतिनिर्माण र उद्योगसँग पर्याप्त रूपमा जोडिएको छैन। हामीसँग युवाहरू छन्। ऊर्जा छ, सपना छन्। तर, ती सपनालाई सम्भावनामा रूपान्तरण गर्ने संरचनाहरू अझै कमजोर छन्। यसैले अवसरको ग्याप भनेको केवल व्यक्तिको समस्या होइन। यो संस्थागत समस्या पनि हो। सायद यही कारणले आज हाम्रो विकास बहसलाई केवल रोजगारीको बहसमा सीमित राख्न सकिँदैन।

कल्पना गरौँ, भोलि सरकारले एक लाख नयाँ रोजगारी सिर्जना गर्‍यो। तर, ती रोजगारीका लागि आवश्यक सीप विकास भएनन् भने? सूचना युवासम्म पुगेन भने? शिक्षा प्रणाली त्यससँग जोडिएन भने? त्यो अवसर कसले उपयोग गर्छ? र, कति जनाले उपयोग गर्न सक्छन्? अर्थात् रोजगारी सिर्जना गर्नु आवश्यक छ।

विश्वविद्यालयहरूमा हरेक वर्ष सयौँ थेसिस र शोधपत्रहरू तयार हुन्छन्। तर, तीमध्ये कतिवटा उद्योग, नीति वा समाजसँग जोडिन्छन्? कतिवटा अनुसन्धानहरूले वास्तविक समस्याको समाधान खोज्छन्?

तर, त्यो मात्र पर्याप्त छैन। अवसरमा पहुँच पनि आवश्यक छ, उपयोग गर्ने क्षमता पनि आवश्यक छ। अवसरलाई मानिसहरूसँग जोड्ने संस्थाहरू पनि आवश्यक छन्। यहीँबाट अर्को महत्त्वपूर्ण अवधारणा आउँछ – अपर्चुनिटी इकोसिस्टमको। किनकि अवसरहरू आकस्मिक रूपमा पैदा हुँदैनन्। तिनीहरू निर्माण गरिन्छन् विद्यालयद्वारा, विश्वविद्यालय, उद्योगहरू, अनुसन्धान संस्था, वित्तीय संस्थाहरू, सरकारी नीतिद्वारा र कहिलेकाहीँ एउटा साधारण मेन्टरसिप, इन्टर्नसिप वा स्कलरसिपद्वारा पनि।

यदि अपर्चुनिटी ग्याप भनेको क्षमता र अवसरबीचको दूरी हो भने अर्को प्रश्न स्वाभाविक रूपमा उठ्छ- यो दूरी कसरी घटाउने? के केवल रोजगारी सिर्जना गरेर? के केवल विश्वविद्यालय थपेर? के केवल तालिम कार्यक्रम संचालन गरेर? सायद होइन। किनकी विकासका चुनौतीहरू प्रायः एकल हस्तक्षेपबाट समाधान हुँदैनन्। तिनलाई जोडिएका संस्थाहरूको समग्र प्रणाली चाहिन्छ।

यही कारणले पछिल्ला हामीले विकासलाई क्रमशः अपर्चुनिटी इकोसिस्टमको दृष्टिकोणबाट हेर्नुपर्छ। एउटा युवाको जीवनलाई हेरौँ। उसलाई विद्यालय चाहिन्छ, उच्च शिक्षा वा सीप विकासको अवसर चाहिन्छ, वृत्तिमार्ग निर्देशन चाहिन्छ, इन्टर्नसिप वा अप्रेन्टाइसिप चाहिन्छ, मेन्टरसिप चाहिन्छ र अन्ततः रोजगारी वा उद्यमशीलतामा प्रवेश गर्ने अवसर चाहिन्छ। यदि यीमध्ये एउटा कडी कमजोर भयो भने सम्पूर्ण यात्रा प्रभावित हुन सक्छ।

यही कुरा उद्यमशीलतामा पनि लागू हुन्छ। एउटा उद्यमीसँग विचार हुन सक्छ। तर, वित्तीय पहुँच नहुन सक्छ। बजारको जानकारी नहुन सक्छ। प्राविधिक सहयोग नहुन सक्छ। नेटवर्क नहुन सक्छ। विचार भएर मात्र पुग्दैन, अवसरमा रूपान्तरण गर्ने प्रणाली पनि आवश्यक हुन्छ।

अनुसन्धानमा पनि अवस्था उस्तै छ। नेपालका विश्वविद्यालयहरूमा हरेक वर्ष सयौँ थेसिस र अनुसन्धान पत्रहरू तयार हुन्छन्। तर, तीमध्ये कतिवटा उद्योग, नीति वा समाजसँग जोडिन्छन्? कतिवटा अनुसन्धानहरूले वास्तविक समस्याको समाधान खोज्छन्? कतिवटा निष्कर्षहरू निर्णय प्रक्रियामा पुग्छन्? यहाँ पनि समस्या अनुसन्धानको मात्र होइन। ज्ञान उत्पादन गर्ने र ज्ञान प्रयोग गर्ने संस्थाबीचको दूरीको हो।

हामीले केवल ‘कति लगानी भयो?’ भनेर मात्र होइन, त्यसले कति नयाँ अवसरहरू जन्मायो? भन्ने प्रश्न पनि सोध्नुपर्छ। मलाई लाग्छ नेपालको विकास यात्राको अर्को चरण यही प्रश्नबाट सुरु हुन सक्छ।

यही कारणले आज विकासको बहसलाई नयाँ ढंगले हेर्न आवश्यक छ। हामीले केवल कतिवटा रोजगारी सिर्जना भए भनेर मात्र होइन, ‘कतिवटा अवसरहरू सिर्जना भए ?’ भन्ने प्रश्न पनि सोध्नुपर्छ। ‘कतिजना विद्यार्थी उत्तीर्ण भए ?’ भनेर मात्र होइन
‘कति आफ्नो सम्भावना उपयोग गर्न सक्षम भए?’ भन्ने प्रश्न पनि सोध्नुपर्छ।

हामीले केवल ‘कति लगानी भयो?’ भनेर मात्र होइन, त्यसले कति नयाँ अवसरहरू जन्मायो? भन्ने प्रश्न पनि सोध्नुपर्छ। मलाई लाग्छ नेपालको विकास यात्राको अर्को चरण यही प्रश्नबाट सुरु हुन सक्छ। हामीलाई रोजगारी चाहिन्छ। तर, रोजगारी मात्र पर्याप्त छैन। हामीलाई सीप चाहिन्छ, त्यो मात्र पनि पर्याप्त छैन। हामीलाई लगानी चाहिन्छ। तर लगानी मात्र पर्याप्त छैन। हामीलाई त्यस्तो वातावरण चाहिन्छ जहाँ मानिसहरूले आफ्नो क्षमता प्रयोग गर्न सकून्, नयाँ अवसरहरू देख्न सकून् र ती अवसरहरूलाई उपलब्धिमा रूपान्तरण गर्न सकून्।

अन्ततः विकास भनेको केवल आर्थिक गतिविधि बढ्नु होइन। मानिसहरूको सम्भावना र अवसरबीचको दूरी घट्नु पनि हो। र, मुलुकको आजको वास्तविक चुनौती यही हो – युवाका लागि जब आर्थिक उन्नयनका क्षेत्रमा आउन ग्याप मात्र होइन, अवसरसम्मका ग्याप घटाउनु।

(भट्टराई उद्योग संगठन मोरङका महानिर्देशक हुन्। लेखमा उल्लिखित विचारहरु निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्‌)