काठमाडौं । सन् १९९० को विश्वकप सेमिफाइनल। मैदानमा उत्रिएका थिए अर्जेन्टिना र इटली। सो विश्वकपको आयोजक राष्ट्र थियो इटली। खेल नापोलीमा हुँदै थियो। सो खेल टिमका लागि भन्दा पनि समर्थकका लागि कठिन थियो।
एकातिर नापोलीका लागि आफ्नो देश इटली थियो। अर्कोतिर थिए डिएगो म्याराडोना। उनले नापोलीका लागि गर्न बाँकी केही थिएन।
खेल सुरु भयो। समर्थकहरु ‘कन्फ्युज’ नै रहे। पछि उनीहरुले विपक्षी टोलीका खेलाडी म्याराडोनालाई हुटिङ लगाए। सो खेल पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले जित्यो।
सन् २०२६ को विश्वकपमा आज फाइनल खेल हुँदैछ। इटली र नापोलीका समर्थक सन् १९९० को विश्वकपमा जुन कन्फ्युजनमा थिए, त्यही द्विविधामा आज स्पेन र बार्सिलोनाका समर्थक हुनेछन्।
बार्सिलोना र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी दुई दशक लामो समय पर्याय बनेर रहे। उनको क्लब करियरमा अझै नाम बार्सिलोनाकै आउँछ। आफ्नो सानदार करियरमा बार्सिलोनाबाट लिगदेखि च्याम्पियन्स लिगसम्म उनले हात पारे। उनी अमेरिका पुग्दासम्म पनि उनका बार्सिलोनाबाट खेल्दै बनेका समर्थक छुटेका छैनन्। तर, आज उनको समर्थकलाई पनि सहज छैन।
बार्सिलोना समर्थकका लागि आज यस्तै आपत छ। एकातर्फ बार्सिलोनाकै खेलाडीले भरिएको स्पेन छ भने अर्कोतर्फ मेस्सी। एकातिर बार्सिलोनाको वर्तमान र भविष्यसँग जोडिएका लामिन यामल, पेड्री, गाभी जस्ता खेलाडी र अर्कोतर्फ बार्सिलोनाका लेजेण्ड मेस्सी। कसलाई रोज्ने?
बार्सिलोनाका लागि विगत मेस्सी र वर्तमान र भविष्य यामलसँग जोडेर यो खेललाई हेरिएको छ। तर, यो खेलमा यस्तो संयोग यो मात्रै भने होइन। यहाँ त गुरुचेला आमनेसामने हुँदैछन्।
अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले आफ्नो कोचिङ करियर स्पेनबाटै सुरु गरेका थिए। स्पेनमा कोचिङ सिकेका थिए। सन् २००७ मा खेलाडी जीवनबाट सन्यास लिएपछि स्कालोनीले आफ्नो प्रशिक्षक बन्ने यात्रा सुरु गर्दा स्पेनिस फुटबल महासंघमा प्रशिक्षक कोर्स गरेका थिए। त्यसबेला लुइस डे ला फुएन्टे त्यही कोर्सका प्रशिक्षक थिए र उनले स्कालोनीलाई ‘टेक्निकल’ पक्ष सिकाएका थिए। स्कालोनीले खेलाडी छँदा आफ्नो अन्तिम आधिकारिक खेल पनि सन् २००६ मा स्पेन विरुद्ध नै खेलेका थिए।
यसबाहेक शिशु यामललाई मेस्सीले नुहाइदिँदै गरेको तस्बिरको चर्चा त छँदैछ। १९ वर्षअघि यामलालाई युनिसेफको एउटा प्रोजेक्ट अन्तर्गत नुहाएको फोटो सुट गरेका मेस्सीविरुद्ध विश्वकपको फाइनलमा तिनै यामल भिड्दैछन्।
अर्जेन्टिनालाई रोक्न स्पेनको डिफेन्स, मेस्सी बलिया
फिफा विश्वकपको फाइनल यसपाला साँच्चै फाइनल जस्तै छ। महादेशीय फुटबलमा सबैभन्दा धेरै हेरिने प्रतियोगिता हो युरोपको युरो कप र दक्षिण अमेरिकाको कोपा अमेरिका। सन् २०२४ मा यी दुई प्रतियोगिता भएका थिए। त्यसबेलमा स्पेन युरोपको च्याम्पियन बन्दा अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन बनेको थियो। ४८ टोली सहभागी विश्वकपमा यी दुई टोली नै उपाधि जित्न फाइनलमा भिड्दैछन्।

५ सातासम्म चलेको १०३ खेलको रोमाञ्चक यात्रापछि फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइपुगेको छ। आइतबार अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा युरोपियन च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिना विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफीका लागि आमनेसामने हुँदैछन्।
एकातिर प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सहज रूपमा फाइनल पुगेको स्पेन छ भने अर्कोतिर कठिन संघर्ष, पुनरागमन र कप्तान लिओनेल मेस्सीको प्रेरणादायी प्रदर्शनको बलमा फाइनल पुगेको अर्जेन्टिना।
स्पेन सन् २०१० पछि दोस्रो पटक विश्वकप फाइनल खेल्दैछ। दक्षिण अफ्रिकामा नेदरल्यान्ड्सलाई हराउँदै पहिलो पटक विश्वकप जितेको स्पेन अहिले १६ वर्षपछि दोस्रो उपाधिको खोजीमा छ। प्रशिक्षक लुइस दे ला फुएन्तेको टोलीले युरो २०२४ जितिसकेको अनुभव बोकेको छ र प्रतियोगिताभर सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएको छ।
यता अर्जेन्टिनाले भने लगातार दोस्रो विश्वकप जित्ने लक्ष्य राखेको छ। यदि स्पेनलाई हराउन सफल भए अर्जेन्टिना सन् १९६२ पछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्नेछ। ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको थियो। अर्जेन्टिनाका लागि यो चौथो विश्वकप उपाधि जित्ने अवसर पनि हो।
जारी फिफा विश्वकपमा डिफेन्सको तारिफ गर्दा सबैभन्दा अघि आउँछ स्पेन। फाइनल आइपुग्दा उसले मात्रै एक गोल खाएको छ। उत्कृष्ट लयमा रहेको फ्रान्सको क्रिएटिभ मिडफिल्ड र दमदार आक्रमणलाई विफल बनाएको टोली हो स्पेन। एकसे एक टोलीलाई डिफेन्स र मिडिफिल्डको बलमा स्पेनले रोकेको थियो।
अर्कोतर्फ अर्जेन्टिनाले संघर्ष गर्दै आएको छ। खेलहरुमा कमब्याक गर्न जान्ने टोली हो अर्जेन्टिना। पटकपटक पछिपरेको स्थितिबाट पुनरागमन गरेको अर्जेन्टिनालाई फुटबल र विपक्षीको साइकोलोजीसँग खेल्न दुबै राम्रोसँग आउँछ। स्पेनको र बार्सिलोनाको परम्परागत खेल शैलीबारे सबैभन्दा धेरै अनुभव सायद मेस्सीलगायतका अर्जेन्टिनी खेलाडीसँगै छ।
अर्थात यसलाई कसरी तोड्ने भन्नेमा मेस्सी नै अघि आउन सक्छन्। अघिल्लो संस्करणमा झै यसपाला पनि अर्जेन्टिनाको उद्धारक बनेर मेस्सी नै आइरहेका छन्। सेमिफाइनलमा अग्रता बनाएको अनुभवी इङ्ग्ल्याण्डलाई हराउन मेस्सीले अफ्ठेरो समयमा सानदार दुई एसिस्ट निकालेका थिए।
दुवै टोलीले सेमिफाइनलको भन्दा लाइनअफ परिवर्तन हुने सम्भावना देखिँदैन।
स्पेनको डिफेन्स र मिडफिल्डको जवाफ छैन। फिनिसिङ भने स्पेनको वाह! भन्ने किसिमको छैन। मिकेल ओयारजबल, यामल र ओल्मोमाथि निर्भर हुनेछ। यामालसँग मेस्सीको स्तरको जिम्मेवारी छैन। अर्थात कुनैपनि खेलाडी निर्भर देखिँदैन। अर्कोतर्फ अर्जेन्टिना मेस्सीमा धेरै निर्भर हुन खोजेको देखिन्छ।
अर्कोतर्फ अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज माइन्ड गेममा माहिर छन्। फुलब्याक धेरै उत्कृष्ट नभए पनि सेन्टरब्याक निकै राम्रो छ। इन्जो फर्नान्डेजजस्ता खेलाडी यहाँ महत्वपूर्ण छन्। यस्तै अगाडि लियोनल मेस्सी सानदार लयमा छन्।
यी दुईको खेल तरिका फरक छ। केप भर्डेसँगको खेल यसलाई सम्झिन सकिन्छ। यो खेलमा अवसर धेरै बनाएर पनि गोल गर्न सकेन। त्यस्तै, उरुग्वेसँगको खेल पनि स्पेनले निक्कै मुस्किलले जितेको थियो।

अर्कोतर्फ अर्जेन्टिना खेलको स्थिति हेरेर रणनीति फेर्न माहीर छ। इङ्ग्ल्याण्डसँग फिजिकल खेल्दै जसरी प्रेस गरेको थियो, अन्तिम समयमा उल्टिएको नतिजाले त्यसको महत्व देखाउँछ। तर, यस्तो रणनीति बलियो डिफेन्ससँगको स्पेनसँग काम नलाग्न सक्छ।
त्यस्तै, अर्जेन्टिनाविरुद्ध गोल गरेर डिफेन्सिभ खेल्न खोजेका टोलीको नतिजा राम्रो आएको छैन। इङ्ग्ल्याण्ड, इजिप्टजस्ता टोलीहरु जितको नजिक पुगेर पनि खेल गुमाएका छन्। स्पेनले गोल स्कोरिङमा धेरै प्रभाव देखाउन सकेको छैन तर डिफेन्समा बलियो छ। अर्कोतर्फ अग्रता उल्टाउन ‘बाजिगर’ अर्जेन्टिना सानदार आक्रमण र मिडफिल्डसँग ठीकठाकको डिफेन्ससँग मैदान उत्रनेछ।
लामिन यामाल र मेस्सीको विशेष भिडन्त
फाइनलको सबैभन्दा आकर्षक पक्ष युवा स्टार लामिन यामाल र अनुभवी सुपरस्टार लिओनेल मेस्सीबीचको प्रतिस्पर्धा हुनेछ।
युवा खलाडी यामाल प्रतियोगिता युरो कपमा जस्तो जारी विश्वकपमा चलेका छैनन्। तर, कुनै पनि बेलमा नतिजा बदल्न सक्ने खेलाडीको पहिचान बनाएका उनलाई स्पेनले कमजोर आँक्न त सक्दैसक्दैन।
अर्कोतर्फ ३९ वर्षीय मेस्सीले यस विश्वकपमा ८ गोल र ४ असिस्ट गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो फाइनलसम्म पुर्याएका छन्। सम्भावित अन्तिम विश्वकप खेलमा उनी आफ्नो टोलीलाई फेरि इतिहास रचाउने लक्ष्यमा हुनेछन्।
स्पेन पछिल्ला ३७ खेलमा निर्धारित ९० मिनेटभित्र अपराजित रहेको छ। प्रतियोगिताभर उसले केवल एक गोल मात्र बेहोरेको छ, जसले उसको रक्षापंक्तिको मजबुती देखाउँछ।
अर्जेन्टिनाले भने समूह चरणका पहिलो दुई खेलपछि लगातार प्रत्येक खेलमा गोल खाएको छ। पछिल्ला पाँच खेलमा सात गोल बेहोरेको रक्षापंक्तिले स्पेनको तीव्र आक्रमण रोक्न ठूलो चुनौती सामना गर्नुपर्नेछ।
प्रतियोगिताभरको प्रदर्शनका आधारमा धेरै फुटबल विश्लेषकले स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानेका छन्। बलमा नियन्त्रण, सन्तुलित मिडफिल्ड, बलियो रक्षापंक्ति र लामिन यामालको उत्कृष्ट लय स्पेनको सबैभन्दा ठूलो शक्ति बनेको छ।
यद्यपि, अर्जेन्टिनासँग निर्णायक क्षणमा खेलको रूप बदल्न सक्ने मेस्सी छन्, जसका कारण फाइनलमा कुनै पनि टोलीलाई सहज मान्न सकिँदैन।








