घरायसी र व्यावसायिक प्रयोजनको विद्युत्‌मा यसरी लाग्नेछ भ्याट, कर कट्टी गर्न कसले पाउँछ?



बिजमाण्डू
२०८३ साउन ३ गते १२:३६ | Jul 19, 2026
घरायसी र व्यावसायिक प्रयोजनको विद्युत्‌मा यसरी लाग्नेछ भ्याट, कर कट्टी गर्न कसले पाउँछ?


काठमाडौं। साउन १ गतेदेखि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने घरायसी उपभोक्तालाई मूल्यमा ५ प्रतिशत भ्याट लाग्न थालेको छ। त्यसैगरी व्यावसायिक प्रयोजनमा उपभोग भएको विद्युत्‌मा १३ प्रतिशत भ्याट लागेको छ।

Tata
GBIME

विद्युत सेवामा भ्याट असुल गर्ने निर्देशिका अनुसार नेपाल विद्युत् प्राधिकरणले घरायसी बिलमा ५ प्रतिशतका दरले कर निर्धारण गरी ग्राहकबाट असुल गर्नेछ। तर विद्युत्‌को व्यापार गर्ने (बीटुबी)मा भने भ्याट लाग्ने छैन।

जस्तो- जलविद्युत् कम्पनीले प्राधिकरण वा प्राधिकरणले बिजुलीकै व्यापार गर्ने अर्को कम्पनीलाई बेच्दा भ्याट लाग्ने छैन।

त्यसैगरी ५० युनिटभन्दा कम खपत गर्ने घरायसी ग्राहकलाई पनि भ्याट नलाग्ने व्यवस्था गरिएको छ। जस्तो- रामको घरमा २०८३ साउन महिनामा ५० युनिट विद्युत खपत भएमा उसले भ्याट तिर्नुपर्दैन।

तर, श्यामको घरमा ६० युनिट विद्युत खपत भएमा ५० भन्दा माथिको १० युनिटको भ्याट तिर्नुपर्छ। जस्तो- ५० युनिटसम्मको महसुल ४०० मा भ्याट लाग्दैन। १० युनिटको ८० रुपैयाँमा भने प्राधिकरणले ५ प्रतिशतले हुने ४ रुपैयाँ जोडेर कुल ४८४ रुपैयाँ बराबरको बिल श्यामको नाममा जारी गर्छ।

अर्को उदाहरण- मानौं, प्राधिकरणले कुनै एउटा सरकारी कार्यालयलाई विद्युत सेवा दिएको छ र एक महिनामा १०० युनिट विद्युत खपत हुँदा ८०० रुपैयाँ महसुल आयो। यस्तो अवस्थामा ५० युनिटसम्मको छुट हुँदैन। व्यक्तिगत नाममा नहुने भएकाले ८०० मा १३ प्रतिशत भ्याट लाग्छ। यस्तो अवस्थामा १०४ रुपैयाँ जोडेर ९०४ रुपैयाँ बराबरको बीजक प्राधिकरणले कार्यालयको नाममा जारी गर्छ।

व्यवसायदेखि व्यवसाय बिक्री (बीटुबी)मा छुट

विद्युतको कारोबार गर्ने एक व्यवसायले विद्युत कारोबार गर्ने अर्को व्यवसायलाई बिजुली बिक्री गर्दा भ्याट लाग्ने छैन। अर्थात विद्युत उत्पादकले प्राधिकरणलाई बिजुली बिक्री गर्दा भ्याट लाग्दैन।

खरिद गर्ने प्राधिकरण र बिक्री गर्ने विद्युत उत्पादक दुवैले भ्याट तिर्नुपर्दैन। प्राधिकरणले विद्युत उत्पादकलाई कुल मूल्य मात्रै भुक्तानी गरे पुग्छ।

तर कुनै सामुदायिक वा लघु जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् सिधै स्थानीय उपभोक्तालाई बिक्री गरेको अवस्थामा भने ५ प्रतिशत भ्याट लाग्छ। व्यावसायिक प्रयोजनलाई बेच्दा १३ प्रतिशत असुल गर्ने जिम्मा पनि सोही लघु जलविद्युत्‌कै हुनेछ। उसले प्राधिकरणलाई बेचेको खण्डमा भने भ्याट लाग्दैन।

जस्तो- मुस्ताङको एउटा लघु जलविद्युत आयोजनाले स्थानीय समुदायलाई बिक्री गरेर बाँकी विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोड्यो भने घरायसी उपभोक्तालाई बिक्री गरेको हकमा ५० युनिट माथि ५ प्रतिशत र व्यवसायलाई बिक्री गरेको हकमा १३ प्रतिशत भ्याट असुल गर्नुपर्छ। तर प्राधिकरणलाई बेचेको विद्युत बीटुबी कारोबार भएकोले भ्याट लाग्दैन।

कसले गर्न पाउँछ कर कट्टी?

निर्देशिकामा कर कट्टीको व्यवस्था पनि गरिएको छ। मानौं, भ्याटमा दर्ता भएको एक कपडा उद्योगले आफ्नो कारखाना सञ्चालन गर्न प्राधिकरणबाट विद्युत जडान गरेको छ। एक महिनामा ५०० युनिट विद्युत खपत भयो।

प्राधिकरणको महसुल दरअनुसार उद्योगमा भ्याटबाहेक ४ हजार रुपैयाँको बिल आयो। यस्तो अवस्थामा उद्योगले ४ हजारको १३ प्रतिशत भ्याट ५२० रुपैयाँ जोडेर ४५२० को बिल हुन्छ।

त्यसैले उद्योगले उत्पादन गरेको कपडा बिक्री गर्दा ग्राहकबाट उठाएकोबाट विद्युत महसुलमा तिरेको ५२० रुपैयाँ कर कट्टी गर्न पाउँछ। घरायसी उपभोक्ता भने भ्याटमा दर्ता नहुने हुँदा उनीहरुले ५ प्रतिशत भ्याट कट्टी गर्न पाउँदैनन्।