विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने एम्बाप्पे, फाइनलमा मेस्सीलाई गोलको दोहोरो दबाब



बिजमाण्डू
२०८३ साउन ३ गते ०५:२५ | Jul 19, 2026
विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने एम्बाप्पे, फाइनलमा मेस्सीलाई गोलको दोहोरो दबाब
फ्रेन्च कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी। Photo: FIFA


काठमाडौं। फ्रान्सका कप्तान किलियन एमबाप्पेले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। इंग्ल्यान्डविरुद्ध आज भएको तेस्रो स्थानको प्लेअफमा दुई गोल गरेका उनी लियोनल मेस्सीलाई पछि पार्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका हुन्।

Tata
GBIME

सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्नै फाइनलमा मेस्सीले एक गोल गर्नुपर्नेछ भने यो संस्करणको गोल्डन बुटका लागि दुई गोल गर्नुपर्नेछ।

फ्रान्स ४-० ले पछि परेको अवस्थामा एमबाप्पेले दोस्रो हाफको ४८औँ मिनेटमा पहिलो गोल गर्दै टोलीको पुनरागमनको प्रयास सुरु गरेका थिए। त्यसपछि ६६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले विश्वकपमा आफ्नो कुल गोलसंख्या २२ पुर्‍याए। यससँगै उनले अर्जेन्टिनाका कप्तान मेस्सीको २१ गोलको कीर्तिमानलाई उछिने।

यस विश्वकपको सुरुवाती खेलमै ह्याट्रिक गरेका मेस्सीले प्रतियोगितामा अस्ट्रियाविरुद्ध दुई तथा जोर्डन, केप भर्डे र इजिप्टविरुद्ध एक–एक गोल गर्दै आफ्नो विश्वकप गोलसंख्या २१ पुर्‍याएका थिए। तर एमबाप्पेको पछिल्लो दुई गोलले उनलाई नयाँ शीर्ष स्थानमा पुर्‍याएको हो।

यी दुई गोलसँगै एमबाप्पे गोल्डेन बुटको दौडमा पनि अगाडि पुगेका छन्। यो संस्करणमा उनले १० गोल गरिसकेका छन् भने मेस्सीको नाममा ८ गोल छ।

एमबाप्पेले २०१८ को विश्वकपबाट आफ्नो प्रभावशाली यात्रा सुरु गरेका थिए। त्यस प्रतियोगितामा उत्कृष्ट युवा खेलाडी घोषित हुँदै चार गोल गरेका उनले फ्रान्सलाई विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् २०२२ को फाइनलमा उनले ह्याट्रिक गरे पनि मेस्सी प्रेरित अर्जेन्टिनासँग उपाधि गुमाउनुपरेको थियो।

३९ वर्षीय मेस्सी अहिले आफ्नो करियरको छैटौं विश्वकप खेलिरहेका छन्। स्पेनविरुद्ध हुने फाइनलमा गोल गर्न सके उनले फेरि विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा फर्काउने अवसर पाउनेछन्। फाइनलमा एक गोलगरे सर्वाधिक गोलकर्ताको कीर्तिमान संयुक्त रुपमा यी दुईको नाममा हुनेछ भने दुई गोलगरे कीर्तिमान उनको नाममा हुनेछ।