काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको १६औं बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रारम्भिक छलफल भएको छ।
बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर तथा अर्थ समितिका माननीय सदस्यहरूको सहभागिता थियो।
उक्त विधेयकमाथि सांसद सुशील खड्काले दर्ता गरेका १३ वटा संशोधन प्रस्ताव छलफलका लागि स्वीकृत भएका छन्। ती संशोधन प्रस्तावहरूमाथि आगामी बैठकहरूमा विज्ञहरूसँग थप विस्तृत दफाबार छलफल गरिनेछ।
छलफलका क्रममा सांसद सुशील खड्काले नेपाल राष्ट्र बैंक समयसापेक्ष रूपमा आफूलाई निरन्तर परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरको सुदृढ र खुला सोच भएको संस्था बन्नुपर्ने आवश्यकता औँल्याएका थिए। बदलिँदो विश्व अर्थतन्त्र, वित्तीय प्रणाली तथा प्रविधिको विकासलाई आत्मसात् गर्दै राष्ट्र बैंकले भविष्य दृष्टिसहित अगाडि बढ्नुपर्ने उनको धारणा थियो।
उनले नेपाल राष्ट्र बैंक स्वतन्त्र निकाय भए पनि त्यसको स्वतन्त्रता संचालनगत स्वतन्त्रता सम्म सीमित रहने उल्लेख गर्दै रणनीतिक दिशा तथा राष्ट्रिय आर्थिक प्राथमिकता भने जनताबाट प्राप्त जनादेशअनुसार निर्वाचित सरकारमार्फत निर्धारण हुने बताएका थिए।
राष्ट्र बैंकले सरकारका आर्थिक लक्ष्य र नीतिगत प्राथमिकतासँग समन्वय गर्दै आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
खड्काले समाज र अर्थतन्त्र तीव्र गतिमा परिवर्तन भइरहेका बेला राष्ट्र बैंक पुराना सोच वा कठोर कार्यशैलीमा सीमित रहन नहुने उल्लेख गरे। उनले राष्ट्र बैंकले समाजको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि, लगानी प्रवर्द्धन तथा समग्र आर्थिक उन्नतिको गतिलाई आत्मसात् गर्दै समयानुकूल नीतिगत सुधारका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
अर्थ समितिले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ सम्बन्धमा प्राप्त सुझाव तथा संशोधन प्रस्तावहरूलाई आधार बनाई आगामी चरणमा विज्ञहरूसँग विस्तृत छलफल गर्दै विधेयकलाई थप परिमार्जन गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।









