वैदेशिक लगानीको प्रतिबद्धता घट्यो, विभागले स्वीकृत गर्‍यो ५८ अर्ब रुपैयाँ बराबरको लगानी



बिजमाण्डू
२०८३ साउन १ गते १६:१७ | Jul 17, 2026
वैदेशिक लगानीको प्रतिबद्धता घट्यो, विभागले स्वीकृत गर्‍यो ५८ अर्ब रुपैयाँ बराबरको लगानी


काठमाडौं। वैदेशिक लगानीको प्रतिबद्धता घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा ८४० परियोजनाका लागि ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएकामा गत आर्थिक वर्ष ५८ अर्बमा खुम्चिएको छ।

Tata
GBIME

गत आर्थिक वर्ष १ हजार ११६ वटा परियोजनाका लागि ५८ अर्ब १० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरिएको छ।

एक हजार ९२ वटा साना उद्योग, १२ वटा मध्यम र १२ वटा ठूला उद्योगमा २८ हजार ४२३ जनालाई रोजगारी दिने गरी वैदेशिक लगानी स्वीकृत गरेको उद्योग विभागले जनाएको छ।

असारमा मात्रै २०२ वटा परियोजनाका लागि १० अर्ब ३८ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको छ।

विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा ७२७ वटा परियोजनाका लागि २ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।

यस्तै पर्यटनमूलक क्षेत्रमा २२७ परियोजनाका लागि १३ अर्ब ९९ करोड, सेवामूलक क्षेत्रमा ७१ परियोजनाका लागि ४ अर्ब ९ करोड, उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ९ करोड, कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि २३ अर्ब १८ करोड, ऊर्जामूलक क्षेत्रमा ४ परियोजनाका लगि ७ अर्ब १६ करोड, खनिज क्षेत्रमा १८ करोड ५० लाख र पूर्वाधारमूलक क्षेत्रमा २ परियोजनाका लागि १ अर्ब ८० करोड रुपैयाँ लगानी स्वीकृत गरेको विभागले जनाएको छ।

विभागले गत आर्थिक वर्षमा नेपालबाट ५ अर्ब ८९ करोड रुपैयाँ रोयल्टी फिर्ता लैजान स्वीकृत दिएको छ।