काठमाडौं। मौसम सक्रिय भएपछि रोपाइँ गर्ने क्रम बढेको छ। कृषि विभागका अनुसार असार मसान्तसम्म देशभर ६१.६२ प्रतिशत रोपाइँ भएको छ।
देशभर ८ लाख ४२ हजार ६८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यो वर्ष १३ लाख ६६ हजार ५६२ हेक्टरमा रोपाइँ हुने सरकारको अनुमान छ। पोहोर साउन ४ गतेसम्म ७१ प्रतिशत रोपाइँ भएको थियो।
यसपटक असार तेस्रो सातासम्म पानी कम परेका कारण रोपाइँ पोहोरभन्दा कम भएको हो।
विभागका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७ प्रतिशत रोपाइँ भएको छ।
गण्डकीमा ६५ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्विनीमा ५९ प्रतिशत, मधेश र बागमतीमा ५७/५७ प्रतिशत तथा कोशीमा ५४ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।








