फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाइनलमा, टुंगियो एम्बाप्पेको यसापालाको विश्वकप यात्रा



बिजमाण्डू
२०८३ असार ३१ गते ०२:५९ | Jul 15, 2026
फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फाइनलमा, टुंगियो एम्बाप्पेको यसापालाको विश्वकप यात्रा
गोलपछि स्पेनको सेलिब्रेसन। Photo: FIFA


काठमाडौं। युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकपको फाइनलमा पुगेको छ। आज सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–० गोलले हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको हो।

Tata
GBIME
Nepal Life

डलास स्टेडियममा सम्पन्न सेमिफाइनलमा स्पेनले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता लियो भने दोस्रो हाफमा अर्को गोल थप्दै सहज जित निकाल्यो।

स्पेनका लागि मिकेल ओयार्जाबालले २२औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। फ्रान्सका डिफेन्डर लुकास डिनले लामिन यामालमाथि बक्सभित्र फउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। ओयार्जाबालले माइक माइग्नानको अनुमान सही भए पनि बललाई माथिल्लो कुनामा प्रहार गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफमै फ्रान्सलाई अर्को ठूलो धक्का लाग्यो। प्रमुख सेन्टर डिफेन्डर विलियम सालिबा ढाडको चोटका कारण खेल छाड्न बाध्य भए र उनको स्थानमा म्याक्सेन्स लाक्रोआ मैदान प्रवेश गरे।

दोस्रो हाफमा स्पेनले अग्रता दोब्बर बनायो। खेलको ५८औं मिनेटमा पेड्रो पोरोले उत्कृष्ट मूभ बनाउँदै गोल थपे। दानी ओल्मोसँगको ‘वान–टु’ पासपछि उनले सहज फिनिस गर्दै फ्रान्सको पुनरागमनको सम्भावना लगभग समाप्त पारे।

फ्रान्ससँग किलियन एमबाप्पे, उस्मान डेम्बेले र माइकल ओलिसे लगायतले पटकपटक आक्रमण गरे पनि स्पेनको व्यवस्थित डिफेन्सलाई तोड्न सकेनन्। फ्रान्सले खेलभर केही अवसर सिर्जना गरे पनि कुनै पनि प्रहार लक्ष्यमा प्रभावकारी बन्न सकेन।

एमबाप्पेले दोस्रो हाफमा दुई-तीन पटक व्यक्तिगत प्रयास गरे पनि मार्क कुकुरेल्या, आयमेरिक लापोर्टे र पाउ कुबार्सीले नेतृत्व गरेको स्पेनको डिफेन्सले उनलाई अवसर नै दिएन। खेलको अन्त्यतिर एमबाप्पे पहेँलो कार्ड पनि पाए।

स्पेनले बलमाथिको नियन्त्रण कायम राख्दै अन्तिम मिनेटसम्म फ्रान्सलाई दबाबमा राख्यो। यामालले इन्जुरी समयमा पेनाल्टीको अपिल गरे पनि रेफ्रीले अस्वीकार गरेका थिए।

योसँगै तीन लगातार विश्वकप फाइनल पुग्ने फ्रान्सको सपना भने सेमिफाइनलमै समाप्त भएको छ। स्पेनले उपाधिका लागि इङ्ग्ल्याण्ड र अर्जेन्टिनाबीचको विजेतासँग खेल्नेछ।