मोमेन्ट मार्केटिङ : नर्वेजियन एयरको लोगो २४ घण्टाका लागि बन्यो ‘ब्रिटिस एयरवेज’!



बिजमाण्डू
२०८३ असार २९ गते १७:०९ | Jul 13, 2026
मोमेन्ट मार्केटिङ : नर्वेजियन एयरको लोगो २४ घण्टाका लागि बन्यो ‘ब्रिटिस एयरवेज’!


काठमाडौं । विश्वकप २०२६ को क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डसँग पराजित भयो नर्वे। यसँगै नर्वेको वायुसेवा कम्पनी नर्वेजियन एयरले खेलअघि गरेको रमाइलो बाजी पूरा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले २४ घण्टाका लागि आफ्नो इन्स्टाग्राम प्रोफाइलमा ब्रिटिस एयरलाइन्सको लोगो राख्दै खेलभावनाको उदाहरण प्रस्तुत गरेको हो।

यो अभियान जुलाई ८ मा सुरु भएको थियो। नर्वेजियन एयरले इन्स्टाग्राममार्फत ब्रिटिस एयरवेजलाई चुनौती दिँदै क्वाटरफाइनलमा इङ्ग्ल्याण्डले जिते एकदिन ब्रिटेन एयरलाइन्सको लोगो राख्ने र नर्वेले जिते एकदिन आफ्नो लोगो इन्स्टाग्राम प्रोफाइनलमा राख्नुपर्ने शर्त सार्‍यो।

त्यसको जवाफमा ब्रिटिस एयरवेजले ‘जित्न नसक्ने बाजी नलगाऊ’ भन्दै चुनौती स्वीकार गरेको थियो। दुवै कम्पनीले जुलाई १० मा औपचारिक रूपमा बाजी पक्का गरेका थिए।

मियामीमा भएको क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएपछि नर्वेजियन एयरले आफ्नो वाचा पूरा गर्‍यो। कम्पनीले २४ घण्टाका लागि आफ्नो प्रोफाइल तस्वीर हटाएर ब्रिटिस एयरवेजको लोगो राख्यो र इङ्ग्ल्यान्ड तथा ब्रिटिस एयरवेजलाई बधाइसमेत दियो।

‘हाम्रो विश्वकप यात्रा सकिएको छ। तर यो बाजी सधैं हाम्रो सम्झनामा रहनेछ। इङ्ग्ल्यान्ड र ब्रिटिस एयरवेजलाई बधाई’ नर्वेजियन एयरले भनेको छ।

इङ्ग्ल्याण्डले अब सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्दैछ।

यसअघि दुवै कम्पनीले लन्डनस्थित ब्रिटिस एयरवेजको मुख्यालयमा भेटेर हात मिलाउँदै लोगो भएका यूएसबी ड्राइभ साटासाट गरेका थिए, ताकि हार्ने पक्षले तत्काल विजेताको लोगो प्रयोग गर्न सकोस्।

विश्लेषकहरूले यो अभियानलाई ‘मोमेन्ट मार्केटिङ’को सफल उदाहरणका रूपमा व्याख्या गरेका छन्। कुनै आधिकारिक विश्वकप प्रायोजनबिनै सिर्जनात्मक सामाजिक सञ्जाल अभियानमार्फत दुवै कम्पनीले विश्वभरबाट लाखौं दर्शकको ध्यान आकर्षित गर्न सफल भएका छन्।