विकास बहसमा यक्ष प्रश्न : पूर्वाधार बढे पनि नेपालमा अवसरहरु सीमित भएका हुन्?



बिजमाण्डू
२०८३ असार १९ गते ०६:०० | Jul 3, 2026
विकास बहसमा यक्ष प्रश्न : पूर्वाधार बढे पनि नेपालमा अवसरहरु सीमित भएका हुन्?

हरेक बिहान हजारौं नेपाली एउटा साझा प्रश्न बोकेर ब्युँझन्छन्, – अब कहाँ जाने? कसैले रोजगारी खोजिरहेको छ, कसैले बजार, कसैले अनुसन्धान गर्ने ठाउँ, कसैले भविष्य। समस्या सबैका फरक देखिन्छन्, तर उनीहरूको केन्द्रमा एउटै अभाव लुकेको छ -अवसर। सायद विकासको सबैभन्दा महत्त्वपूर्ण प्रश्न पनि यही हो, हामीले मानिसका लागि कति अवसर सिर्जना गरिरहेका छौँ?

Tata
GBIME
Nepal Life

हामीकहाँ विकाससँग सम्बन्धित सबैभन्दा धेरै सुनिने शब्दमध्ये हो अवसर। धेरै युवाहरू भन्छन्, नेपालमा अवसर छैन। धेरै अभिभावकहरूले भनेको सुनिन्छ, छोराछोरीको भविष्य विदेशमा छ। धेरै उद्यमीहरू भन्छन्, उत्पादन गर्न सकिन्छ, तर बजार छैन। धेरै उद्योगीहरू भन्छन्, दक्ष जनशक्ति पाइँदैन। धेरै किसानहरू भन्छन्, खेती गरेर भविष्य देखिँदैन। धेरै शिक्षण संस्थाहरू भन्छन्, विद्यार्थीहरू घट्दैछन्। धेरै अनुसन्धानकर्ताहरू भन्छन्, अनुसन्धान गर्ने वातावरण छैन। पहिलो नजरमा यी फरक–फरक समस्या जस्ता देखिन्छन । तर गहिराइमा हेर्दा यी सबै एउटै प्रश्नसँग जोडिएको छ, त्यसो हो भने अवसर कहाँ छ?

यदि एउटा युवाले आफ्नो सीप प्रयोग गर्ने अवसर पाउँदैन भने ऊ विदेश जान खोज्छ। यदि एउटा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैन भने ऊ खेती छोड्न थाल्छ। यदि एउटा उद्योगले बजार विस्तार गर्न सक्दैन भने उसले नयाँ लगानी गर्दैन।

यदि एउटा अनुसन्धानकर्ताले अनुसन्धान गर्ने अवसर पाउँदैन भने उसको जिज्ञासा हराउन थाल्छ। यदि एउटा उद्यमीले आफ्नो विचारलाई व्यवसायमा रूपान्तरण गर्ने वातावरण पाउँदैन भने ऊ जोखिम लिन हिच्किचाउँछ। त्यसैले विकासको प्रश्न केवल आय, रोजगारी वा उत्पादनको मात्र होइन। यो अवसरहरूको प्रश्न पनि हो। र सायद यही कारणले विकासबारेको एउटा आधारभूत प्रश्न फेरि सोध्न आवश्यक छ – विकास भनेको वास्तवमा के हो? के विकास भनेको सडक, पुल, भवन र उद्योग मात्र हो?

के विकास भनेको आर्थिक वृद्धिदर मात्र हो? के विकास भनेको राष्ट्रिय आय बढ्नु मात्र हो? यदि त्यसो हो भने, किन अझै लाखौँ नेपाली युवाहरू अवसरको खोजीमा देश छोडिरहेका छन्?

किन किसानहरू खेतीबाट निराश भइरहेका छन्? किन उद्योगहरू दक्ष जनशक्तिको अभावको गुनासो गरिरहेका छन्? किन विश्वविद्यालयहरू अनुसन्धानको कमजोर संस्कृतिसँग संघर्ष गरिरहेका छन्? यी प्रश्नहरूको उत्तर खोज्ने क्रममा विकाससम्बन्धी बहसले पछिल्लो शताब्दीमा धेरै विविधताहरु देखियो।

लामो समयसम्म विकासलाई मुख्यतः आर्थिक वृद्धिको रूपमा हेरियो। कुनै देशको उत्पादन, आय, लगानी र औद्योगिक विस्तारलाई विकासको प्रमुख सूचक मानिन्थ्यो। अर्थतन्त्र बढ्यो भने विकास भयो भन्ने बुझाइ बलियो थियो। तर समयसँगै एउटा असहज प्रश्न उठ्न थाल्यो। यदि अर्थतन्त्र बढ्यो, तर मानिसहरूको जीवनमा अपेक्षित परिवर्तन आएन भने? यदि राष्ट्रिय आय बढ्यो, तर अवसरहरू केही सीमित समूहमा मात्र केन्द्रित भए भने? यदि विकासका तथ्यांकहरू राम्रो देखिए, तर मानिसहरूले आफ्नो भविष्यप्रति आशा गर्न छाडे भने?

वास्तवमा विकासको बहसमा एउटा रोचक विरोधाभास देखिन्छ। हामीसँग पहिलेभन्दा धेरै विद्यालय छन्, तर धेरै विद्यार्थीहरू आफ्नो भविष्य विदेशमा खोजिरहेका छन्। हामीसँग पहिलेभन्दा धेरै विश्वविद्यालय छन्, तर अनुसन्धान र नवप्रवर्तनबारे गुनासो यथावत् छ।

हामीसँग सडक र सञ्चारको पहुँच विस्तार भएको छ, तर ग्रामीण क्षेत्रबाट युवा जनशक्ति निरन्तर बाहिरिइरहेको छ। हामीसँग बैंक तथा वित्तीय संस्थाहरूको पहुँच बढेको छ, तर धेरै साना उद्यमीहरू अझै पनि पुँजीको अभावको कुरा गर्छन्।

यसको अर्थ विकास भएको छैन भन्ने होइन। बरु यसले विकासलाई केवल भौतिक संरचनाको विस्तारका रूपमा मात्र बुझ्न पर्याप्त छैन भन्ने संकेत गर्छ। यही प्रश्नलाई फरक ढंगले सोध्ने प्रयास गरेका थिए भारतीय अर्थशास्त्री अमर्त्य सेनले।

सन् १९९८ मा अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका सेन केवल अर्थशास्त्री मात्र होइनन्। उनी विकास, गरिबी, असमानता, न्याय र मानव स्वतन्त्रताका विषयमा गहिरो चिन्तन गर्ने विचारक हुन्। उनको प्रसिद्ध पुस्तक ‘डेभलपमेन्ट एज फ्रिडम’ले विकासबारेको विश्वव्यापी बहसलाई नयाँ दिशा दियो।

सेनको तर्क सरल थियो, तर गहिरो थियो। मानिससँग के छ भन्नेभन्दा पनि मानिसले के गर्न सक्छ र के बन्न सक्छ भन्ने कुरा बढी महत्त्वपूर्ण छ। एउटा व्यक्तिसँग पैसा हुन सक्छ, तर शिक्षा नहुन सक्छ। विद्यालय हुन सक्छ, तर त्यहाँ पुग्ने अवसर नहुन सक्छ। अस्पताल हुन सक्छ, तर उपचार प्राप्त गर्ने क्षमता नहुन सक्छ। मताधिकार हुन सक्छ, तर आफ्नो आवाज प्रभावकारी रूपमा उठाउन सक्ने अवस्था नहुन सक्छ। त्यसैले विकासलाई केवल स्रोतहरूको उपलब्धताले होइन, ती स्रोतहरूलाई प्रयोग गरेर मानिसहरूले आफ्नो जीवन कति विस्तार गर्न सके भन्ने आधारमा हेर्नुपर्छ।

यही विचारबाट सेनको क्षमता दृष्टिकोणको अवधारणा जन्मिएको हो। यसलाई बुझ्न एउटा सरल उदाहरण हेरौँ। कल्पना गरौँ, दुई जना युवाले एउटै विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरे। दुवै मेहनती छन्। दुवैको नतिजा पनि लगभग समान छ। तर पहिलो युवासँग उच्च शिक्षा पढ्ने, व्यवसाय सुरु गर्ने, सीप तालिम लिने, रोजगारी खोज्ने वा अनुसन्धानमा लाग्ने अवसरहरू छन्।

दोस्रोसँग त्यस्ता अवसरहरू छैनन्। दुवैले एउटै ठाउँबाट यात्रा सुरु गरेका छन्। तर उनीहरूको भविष्यका सम्भावनाहरू समान छैनन्। अमर्त्य सेनका अनुसार यही क्षमता सम्भावनाहरूको दायरालाई क्षमता अर्थात क्यापाबिलिटी भनिन्छ। अर्थात् मानिससँग उपलब्ध वास्तविक अवसरहरूको समष्टि। क्यापाबिलिटी भनेको मानिसले अहिले के गरिरहेको छ भन्ने मात्र होइन। उसले के गर्न सक्छ भन्ने पनि हो।

नेपालमा हामी प्रायः सफलता र असफलतालाई व्यक्तिगत मेहनतसँग मात्र जोडेर हेर्छौं।

निश्चय नै मेहनत महत्त्वपूर्ण छ। तर अमत्र्य सेनले हाम्रो ध्यान अर्को प्रश्नतर्फ पनि आकर्षित गर्छन्। सबै मानिसहरूले समान अवसरहरू पाएका छन् त? एउटै क्षमता भएका दुई व्यक्तिहरूले फरक परिणाम प्राप्त गर्नुको कारण सधैं उनीहरूको व्यक्तिगत प्रयास मात्र हुँदैन। कहिलेकाहीँ त्यो शिक्षा, सूचना, सामाजिक सञ्जाल, आर्थिक अवस्था, भौगोलिक पहुँच वा संस्थागत सहयोगको परिणाम पनि हुन्छ।

यही कारणले क्यापाबिलिटी एप्रोच (क्षमता आधारित विकास दृष्टिकोण)ले मानिसहरूलाई मात्र होइन, उनीहरू वरिपरिका अवसरहरूको संरचनालाई पनि हेर्न आग्रह गर्छ। यसैसँग सम्बन्धित अर्को शब्द हो – फङ्सनिङ अर्थात उपलब्ध अवस्था।
फङ्सनिङ भनेको मानिसले वास्तवमा हासिल गरेका अवस्थाहरू हुन्। शिक्षित हुनु। स्वस्थ हुनु। सम्मानजनक रोजगारी पाउनु। आफ्नो विचार व्यक्त गर्न सक्नु। समाजमा सम्मानपूर्वक बाँच्न सक्नु। यी सबै फङ्सनिङ हुन्।

तर मानिसको जीवन केवल एउटा फङ्सनिङले मात्रै बनेको हुँदैन। शिक्षा, स्वास्थ्य, आय, सम्मान, सुरक्षा, सहभागिता र स्वतन्त्रता जस्ता विभिन्न फङ्सनिङहरु मिलेर मानिसको जीवन निर्माण गर्छन्। सेनले यसैलाई भेक्टर अफ फङ्सनिङ अर्थात जीवन उपलब्धीहरुको समग्र संयोजन, भनेका हुन्। सरल भाषामा भन्नुपर्दा, मानिसको जीवनको समग्र अवस्था नै उसको भेक्टर अफ फङ्सनिङ हो। विकास भनेको यही भेक्टर अफ फङ्सनिङ लाई विस्तार गर्ने प्रक्रिया हो।

अर्थात् मानिससँग पहिलेभन्दा बढी अवसरहरू हुनु। बढी छनोटहरू हुनु। आफूले मूल्यवान् ठानेको जीवन रोज्न सक्ने बढी स्वतन्त्रता हुनु। नेपालका लागि यो विचार विशेष रूपमा सान्दर्भिक छ।

किनकि हामी विकासको एउटा महत्त्वपूर्ण मोडमा उभिएका छौँ। हामीले सडक बनाएका छौँ। विद्यालयहरू विस्तार गरेका छौँ। विद्युत् पहुँच बढाएका छौँ। विश्वविद्यालयहरू थपेका छौँ। डिजिटल पहुँच विस्तार गरेका छौँ। तर आज पनि अवसरको बहस समाप्त भएको छैन। बरु झन् तीव्र भएको छ। हामी युवाहरू विदेश गइरहेका छन् भनेर चिन्तित छौँ। उद्योगी दक्ष जनशक्ति पाइँदैन भनेर चिन्तित छन्। किसान खेतीमा भविष्य छैन भन्छन्। उद्यमी बजार छैन भन्छन्। विश्वविद्यालयहरू अनुसन्धान कमजोर छ भन्छन्।

यी सबै फरक–फरक समस्याहरू जस्ता देखिए पनि सम्भवतः एउटै ठूलो प्रश्नका फरक–फरक रूप हुन्। हामी पर्याप्त अवसरहरू सिर्जना गर्न सकिरहेका छौँ कि छैनौँ? सायद यही कारणले आज एक्पोजर, अनुभव, स्कलरसिप, इन्टर्नसिप, औद्योगिक प्रशिक्षार्थीको अवसर, वृत्ति विकास, स्टार्टअप इन्कुबेशन, मेन्टरसिप, साना अनुसन्धान अनुदानहरु, शैक्षिक र उद्योग क्षेत्रको सम्बन्ध जस्ता विषयहरू विकासका केन्द्रीय विषय बन्न थालेका छन्। यी कार्यक्रमहरू केवल परियोजना होइनन्। यी अवसरहरू विस्तार गर्ने माध्यमहरू हुन्।

एउटा छात्रवृत्तिले शिक्षाको ढोका खोल्न सक्छ। एउटा इन्टर्नसिपले पढाइ र रोजगारीबीचको दूरी घटाउन सक्छ। एउटा आन्टरप्रेनियरसिपका खुबीले सीपलाई आयमा रूपान्तरण गर्न सक्छ। एउटा इन्क्युबेशन कार्यक्रमले उद्यमशीलताका नयाँ अवसरहरु सिर्जना गर्न सक्छ। एउटा रिसर्च अनुदानले नयाँ ज्ञान उत्पादन गर्न सक्छ। विकासको दृष्टिकोणबाट हेर्दा यिनको महत्व केवल कार्यक्रमका रूपमा होइन, मानिसहरूको क्षमता विस्तार गर्ने संयन्त्रका रूपमा हुन्छ। र, यहीँबाट अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ। अवसरहरू सिर्जना कसले गर्छ? अवसरहरू आफैं सिर्जना हुँदैनन्।

तिनलाई विद्यालय, विश्वविद्यालय, उद्योग, अनुसन्धान संस्था, वित्तीय प्रणाली, सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायले मिलेर निर्माण गर्छन्। यी सबै कुरा साना जस्ता देखिन्छन्।

तर वास्तवमा यिनले मानिसहरूको क्यापाबिलीटी विस्तार गरिरहेका हुन्छन्। यिनले अवसरहरूको दायरा फराकिलो बनाइरहेका हुन्छन्। सायद यही कारणले विकासको बहसलाई अब केवल पूर्वाधार, बजेट र आर्थिक वृद्धिको भाषामा मात्र सीमित राख्न सकिँदैन।

विकासको बहस अवसरहरूको बहस पनि हुनुपर्छ। किनकि अन्ततः विकास भनेको मानिसहरूले आफूले मूल्यवान् ठानेको जीवन रोज्न सक्ने अवसरहरूको विस्तार हो। र, सायद आज नेपालको सबैभन्दा ठूलो विकास चुनौती पनि यही हो – अझ धेरै अवसरहरू सिर्जना गर्नु।

(भट्टराई उद्योग संगठन मोरङका महानिर्देशक हुन्। लेखमा उल्लिखित विचारहरु निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्‌)