काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरण समाप्त भएसँगै राउण्ड अफ ३२ को समीकरण पूरा भएको छ। ४८ टोलीबाट सुरु भएको प्रतियोगितामा अब ३२ टोलीले उपाधि यात्रालाई निरन्तरता दिँदै नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन्।
समूह चरणमा जर्मनी, अर्जेन्टिना, ब्राजिल, फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, पोर्चुगल, मेक्सिको, जापान र क्रोएसियाजस्ता बलिया टोलीले अपेक्षाअनुसार स्थान बनाए। यस्तै, केप भर्डे, डिआर कंगो, बोस्निया एन्ड हर्जेगोभिना, इक्वेडर र दक्षिण अफ्रिकाले पनि प्रभावशाली प्रदर्शन गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरे।
बाहिरिने प्रभावशाली टोलीहरुमा उरुग्वे, दक्षिण कोरिया, टर्किए, इरान जस्ता टोली रहे।
नकआउट चरणमा केही खेल भने हेभिवेट हुने देखिएको छ। नेदरल्याण्ड्स र मोरोक्को, ब्राजिल र जापान तथा पोर्चुगल र क्रोएसियाबीचको खेल यो चरणमा छुटाउन नहुने खेलका रुपमा रहेको छ।
विश्वकपमा राउण्ड अफ ३२ का खेलहरू:
दक्षिण अफ्रिका भर्सेस क्यानडा – असार १५ गते (सोमबार)
ब्राजिल भर्सेस जापान – असार १५ गते (सोमबार)
जर्मनी भर्सेस पाराग्वे – असार १६ गते (मंगलबार)
नेदरल्याण्ड्स भर्सेस मोरोक्को – असार १६ गते (मंगलबार)
आइभोरी कोस्ट भर्सेस नर्वे – असार १६ गते (मंगलबार)
फ्रान्स भर्सेस स्वीडेन – असार १७ गते (बुधबार)
मेक्सिको भर्सेस इक्वेडर – असार १७ गते (बुधबार)
इङ्ग्ल्याण्ड भर्सेस डीआर कंगो – असार १७ गते (बुधबार)
बेल्जियम भर्सेस सेनेगल – असार १८ गते (बिहीबार)
अमेरिका भर्सेस बोस्निया एण्ड हर्जगोभिना – असार १८ गते (बिहीबार)
स्पेन भर्सेस अस्ट्रिया – असार १९ गते (शुक्रबार)
पोर्चुगल भर्सेस क्रोएसिया – असार १९ गते (शुक्रबार)
स्वीजरल्याण्ड भर्सेस अल्जेरिया- असार १९ गते (शुक्रबार)
अस्ट्रेलिया भर्सेस इजिप्ट- असार १९ गते (शुक्रबार)
अर्जेन्टिन भर्सेस केप भर्डे- असार २० गते (शनिबार)
कोलम्बिया भर्सेस घाना – असार २० गते (शनिबार)
राउण्ड अफ ३२ बाट विजयी हुने टोलीहरू अन्तिम १६ मा प्रवेश गर्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै विश्व फुटबलको नयाँ च्याम्पियन तय हुनेछ।
समूह चरणमा केही अप्रत्याशित नतिजासमेत देखिए। विश्व फुटबलका केही परम्परागत शक्तिशाली टोलीहरू बाहिरिँदा तुलनात्मक रूपमा कमजोर मानिएका टोलीहरूले इतिहास रच्दै नकआउट चरणमा स्थान बनाएका छन्। त्यसैले अब सुरु हुने प्रत्येक खेल ‘गर या मर’को अवस्थामा हुने भएकाले प्रतियोगिता अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।











