काठमाडौं। समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ। समूह ‘इ’ अन्तर्गत गएराति सम्पन्न खेलमा जर्मनी इक्वेडरसँग २-१ गोलले पराजित भएको हो।
त्यस्तै, यही समूहको अर्को खेलमा आइभोरी कोस्टले कुरासाओलाई २-० गोलले हरायो। अन्तिम खेलमा हारको बावजुद जर्मनी ६ अंकसहित समूह विजेता बन्दा त्यति नै अंक जोडेको आइभोरी कोस्ट समूहको उपविजेता बन्दै नकआउटमा पुग्यो।
त्यस्तै, जर्मनीलाई हराउँदै ४ अंक बनाएको इक्वेडरले पनि तेस्रो स्थानमा रहेको उत्कृष्ट टोली मध्ये एक बन्दै नकआउट पुग्ने पक्का भएको छ।
जर्मनीको अन्तिम खेलमा हार
जर्मनीविरुद्ध सुरुआती गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इक्वेडरले २–१ को ऐतिहासिक जित निकालेको छ। यो हारसँगै उपाधि दाबेदार मानिएको जर्मनीलाई धक्का पुगेको छ।
अर्कोतर्फ दुई मिनेटमै गोल खाएर दबाबमा परेको इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थानको उत्कृष्ट टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा पुगेको हो।
जर्मनीका लेरोय सानेले खेलको दोस्रो मिनेटमै गोल गर्दै इक्वेडरलाई ठूलो धक्का दिएका थिए। फ्लोरियन विट्र्जको पासलाई सदुपयोग गर्दै सानेले म्यानुएल नोयरअघि सहज फिनिस गरेका थिए। योसँगै जर्मनीले सुरुबाटै खेलमा हाबि हुन खोजेको थियो।
तर इक्वेडरले हार मानेन। नवौं मिनेटमा पेड्रो भिटेले जर्मनीको मिडफिल्डबाट बल खोसेपछि निल्सन आङ्गुलोलाई पास दिए। आङ्गुलोले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको घुमाउरो प्रहार नोयरलाई निरिह बनाउँदै जाली चुम्यो। जारी विश्वकपमा इक्वेडरको पहिलो गोल नै खेललाई बराबरीमा ल्याउने गोल बन्यो।
बराबरीपछि खेलको लय पूर्ण रूपमा इक्वेडरतर्फ मोडियो। मोइसेस काइसेडो र पेड्रो भिटेको नेतृत्वमा मिडफिल्ड नियन्त्रणमा लिएको दक्षिण अमेरिकी टोलीले जर्मनीलाई लगातार दबाबमा राख्यो। ४८औं मिनेटमा जर्मनीले पाएको पेनाल्टी भीएआरपछि रद्द हुँदा इक्वेडरले ठूलो राहत पायो।
खेलको निर्णायक गोल ७७औं मिनेटमा आयो। काइसेडोको कर्नरमा केभिन रोड्रिगेजले पहिलो पोस्टमा हेडमार्फत बल अघि बढाएपछि गोन्जालो प्लाटाले नोयरभन्दा अगाडि पुगेर बल जालीमा छिराए। यही गोलले इक्वेडरलाई ऐतिहासिक जित दिलायो।
आइभोरी कोस्टको सहज जित
त्यस्तै यही समूहको अर्को खेलमा आइभोरी कोस्टले निकोलस पेपेको उत्कृष्ट दोहोरो गोलको मद्दतमा कुरासाओलाई २–० ले पराजित गर्दै इतिहासमै पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा स्थान बनायो।
फिलाडेल्फियामा सम्पन्न निर्णायक खेलमा जित वा बराबरी दुवैले अगाडि बढ्न सक्ने अवस्थामा रहेको आइभोरी कोस्टले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्यो। विश्वकपमा पहिलो सहभागिता जनाएको कुरासाओ भने जित निकाले मात्र अर्को चरण पुग्ने दबाबमा थियो। तर अफ्रिकी टोलीको संयमित प्रदर्शनसामु उसको सपना पूरा हुन सकेन।
आइभोरी कोस्टले खेलको सातौं मिनेटमै अग्रता लियो। कुरासाओको डिफेन्सको गल्तीको फाइदा उठाउँदै १९ वर्षीय यान डियोमान्डेले बल खोसेर बाइलाइनबाट कटब्याक पास उपलब्ध गराए। पेनाल्टी क्षेत्रभित्र कुनै गल्ती नगरी निकोलस पेपेले सहज फिनिस गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
सुरुआती धक्कापछि कुरासाओले पनि खेलमा फर्कने प्रयास गर्यो। ताहित चोङले लामो दूरीबाट गरेको प्रहार थोरै बाहिरियो भने कप्तान लिएन्ड्रो बाकुनाको शक्तिशाली प्रहार साइड नेटिङमा लाग्दा बराबरी गर्ने अवसर गुम्यो। पहिलो हाफभर आइभोरी कोस्टले बलमाथि करिब ७३ प्रतिशत नियन्त्रण कायम राखे पनि दोस्रो गोल निकाल्न भने सकेन।
दोस्रो हाफमा पनि खेलको लय आइभोरी कोस्टकै पक्षमा रह्यो। कप्तान फ्रान्क केसी, इब्राहिम साङ्गारे र अमाद डियालोले मिडफिल्डमा उत्कृष्ट समन्वय गर्दै लगातार दबाब सिर्जना गरे। त्यसको प्रतिफल ६४औं मिनेटमा आयो।
साङ्गारेले मिलाएको सटिक थ्रु पासमा पेपे डिफेन्स चिर्दै एक्लै गोलतर्फ अघि बढे र गोलरक्षक एलोय रुमलाई बिट गर्दै बल जालीको माथिल्लो कुनामा प्रहार गरे। पेपेको व्यक्तिगत दोस्रो तथा टोलीको दोस्रो गोलसँगै आइभोरी कोस्टले नकआउटमा स्थान पक्का गर्यो।










