काठमाडौं। दोलखाको तामाकोशी गाउँपालिका नागरिक पेन्सन योजनामा सहभागी भएको छ। पेन्सन योजनामा सहभागिताका लागि गाउँपालिकाले नागरिक लगानी कोषसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा बिहीबार कोषकी निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले हस्ताक्षर गरे।
सम्झौता अनुसार गाउँपालिका र सहभागी श्रमिकले मासिक ५००/५०० रुपैयाँ कोषमा जम्मा गर्नेछन्। योजना सञ्चालनका लागि कोषले आवश्यक केवाइसी फाराम र व्यक्तिगत विवरण कार्ड निःशुल्क उपलब्ध गराउनेछ।
गाउँपालिकाले सहभागी श्रमिक तथा उनीहरूको व्यक्तिगत खातासम्बन्धी विवरण अद्यावधिक राख्नुपर्नेछ। यो योजनामा सहभागी श्रमिकले ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन्।










