काठमाडौं। एनआईसी एशिया बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका-८ स्थित सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने तथा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन बैंकले स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो। हाल उक्त विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
बैंकका काठमाडौं इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई बुधबार स्मार्ट बोर्ड हस्तान्तरण गरेका थिए।
कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापक निरा गिरी र गोविन्द नेपालसहित शिक्षक/शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरू उपस्थित थिए।
विद्यालयमा डिजिटल शिक्षण प्रणालीको विस्तारका लागि प्राप्त स्मार्ट बोर्ड उपयोगी हुने अपेक्षा गरिएको छ। यसले कक्षाकोठामा आधुनिक प्रविधिको प्रयोग बढाउन मद्दत पुग्ने तथा विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
शिक्षा क्षेत्रमा प्रविधिको पहुँच विस्तार हुँदै गएको अवस्थामा यस्ता सहयोगले सामुदायिक विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा टेवा पुग्ने सरोकारवालाहरूले बताएका छन्।











