काठमाडौं। नेपाली विद्युत प्राधिकरणले भारतसँग ३०० मेगावाट बिजुली ‘ऐंचोपैंचो’ गर्ने भएको छ।
प्राधिकरणले ‘ऐंचोपैंचो’ शैलीमा विद्युत आदानप्रदानका लागि भारतलाई पत्राचार गरेको छ। प्राधिकरणले भारतको बिहार स्टेट पावर होल्डिङ कम्पनीलाई पत्र पठाएको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालले हिउँदमा भारतबाट जति बिजुली आयात गर्यो वर्षातको समयमा सोही परिमाणमा बिजुली दिने रणनीतिका साथ पत्र पठाएको बताए।
‘हामीकहाँ वर्षातको समयमा बिजुली धेरै उत्पादन हुन्छ। तर हिउँदमा कम छ। हिँउदमा आन्तरिक उत्पादनले माग धान्दैन। त्यसैले हिउँदमा भारतबाट ३०० मेगावाट बिजुली ल्याइ वर्षातको समयमा सोही परिणाम बराबर दिने भनेर हामीले पत्राचार गरेका हौं,’ ढकालले भने, ‘यसमा बिजुली आदानप्रदान हुन्छ। तर पैसाको हिसाबकिताब हुँदैन। त्यसैले हामीले ऐंचोपैंचो भनेका हौं।’
ढकालका अनुसार ऐंचोपैंचोमा पैसाको हिसाबकिताब नभए पनि लिएको र दिएको बिजुलीको रेकर्ड राखेर अर्को वर्ष मिलान गर्न सकिने सुविधा हुनेछ। बिजुली १३२ केभी प्रसारण लाइनबाट आदानप्रदान गरिनेछ।
नेपालमा अधिकांश जलविद्युत आयोजना रन अफ दि रिभरमा आधारित रहेकाले हिउँदमा बिजुली अपुग हुने र वर्षाका बेला बढी भएर खेर जाने अवस्था छ। त्यही कारण प्राधिकरणले बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग गत चैतमा नै ऐंचोपैंचोका लागि सम्झौता गरेको थियो। विद्युत आदानप्रदानका लागि सम्झौता माथिल्लो निकायबाट अनुमोदन गराउने भनिएको छ।
प्राधिकरणले ऊर्जा मन्त्रालय र विद्युत नियमन आयोग तथा भारतको बिहार स्टेट कम्पनीले सेन्ट्रल इलेक्ट्रिक अथोरिटी (सीआईए) र विद्युत मन्त्रालयबाट अनुमोदन गराउनुपर्छ। प्राधिकरणले सम्झौताबारे ऊर्जा मन्त्रालय र आयोग दुवैलाई जानकारी गराइसकेको छ।
प्राधिकरणले बिहार स्टेट कम्पनीलाई त्यहाँको माथिल्लो निकायबाट अनुमोदन गराएर सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको हो। ऐंचोपैंचोले ऊर्जा सुरक्षामा सहयोग पुग्ने प्राधिकरणको बुझाइ छ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हिउँद र वर्षातको बिजुली सन्तुलनको ‘ग्याप’ पूरा गर्न ऐंचोपैंचोलो ठूलो मद्दत गर्ने बताए। ‘यो सम्झौता अनुसार प्राधिकरणले हिउँदमा आवश्यक पर्ने बिजुली भारतबाट ल्याउँछ र वर्षातमा आफूलाई बढी हुने बिजुली भारतलाई दिन्छ,’ शाक्यले भने, ‘हिउँदमा भाउ महँगो हुने भएकाले ऐंचोपैंचो कार्यान्वयन गर्दा हामीलाई फाइदा हुन्छ।’
शाक्यका अनुसार ऐंचोपैंचोको बिजुली आदानप्रदान गर्दा अन्तर्देशीय प्रसारण शुल्क तिर्नु नपर्ने भएकाले प्राधिकरणलाई प्रति युनिट १.५ रुपैयाँभन्दा बढी बचत हुनेछ। उनको हिसाबमा प्राधिकरणलाई वार्षिक १ अर्बभन्दा धेरै फाइदा हुनेछ।
प्राधिकरणले पीटीसी इण्डिया र एनभीभीएन कम्पनी तथा पावर एक्सचेन्ज कमिटीसँग रियल मार्केट र डे अहेड मार्केटबाट बिजुली किनबेच गर्दै आएको छ। प्राधिकरणले १२०० मेगावाट आयात निर्यातको अनुमति पाएकामा अहिले १००० मेगावाटसम्म बेचिरहेको छ। अहिले भइरहेको आयात निर्यातमा बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग गर्न लागेको ऐंचोपैंचोले फरक पर्ने छैन।
प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैतसम्म २ अर्ब ९५ करोड १९ लाख युनिट विद्युत निर्यात गरी २० अर्ब ४१ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले गत साउनदेखि चैतसम्म भारतसँग ९४ करोड ८१ लाख युनिट विद्युत ७ अर्ब ३९ करोड रुपैयाँमा किनेको छ।
पोहोर सोही अवधिमा प्राधिकरणले १ अर्ब ७७ करोड ५१ लाख युनिट विद्युत निर्यात गरी १३ अर्ब १५ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको र ९१ करोड ६१ लाख युनिट विद्युत ९ अर्ब ४२ करोड ९२ लाख रुपैयाँमा किनेको तथ्यांक छ।









