काठमाडौं। फिफा विश्वकप सुरु हुनुअघिबाटै ४८ टोलीमध्ये कुन टोली बलिया भन्ने बहस सुरु भएको थियो। विश्वकप नखेल्ने नेपालजस्तो देशमा समेत यसको चासो सुरु भइसकेको थियो।
फुटबलका विश्लेषकदेखि सर्वसाधारणसम्मले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल र चिया पसलसम्म आ-आफ्नो टोलीले जित्ने दाबी गरेका थिए। विश्वकप खेल्ने देशमा त सुपरकम्प्युटरसम्मले आफ्नो अनुमान अघि सारेका छन्। ओप्टा सुपरकम्युटरले सबैभन्दा बढी विश्वकप जित्ने सम्भावना भएको टोलीमध्ये स्पेनलाई सबैभन्दा माथि राखेको थियो।
विश्वकपमा ४८ टोली सहभागी भए पनि विजेताका लागि भने ५ देखि ८ टोलीका नाम समर्थकहरूको मुखैमा छ : अर्जेन्टिना, ब्राजिल, फ्रान्स, स्पेन, पोर्चुगल, जर्मनी, इङ्ग्ल्याण्ड। यही विश्वकपमा सहभागी केही टोलीको नाम भने धेरैले यसै विश्वकपबाट थाहा पाएको पनि छन्। कुरासाओ, केप भर्डेजस्ता देश यसको उदाहरण हुन्।
विश्वकप दाबेदार मानिएका टोलीमध्ये पहिलो चरणमा सबैभन्दा अप्रत्यासित नतिजा दिने टोली बन्यो स्पेन। विश्वकपका हेभिवेटमध्ये पहिलो खेलमै सबैभन्दा कमजोर आँकिएको टोली पाएको थियो स्पेनले।
तर, केप भर्डेले बाहदुरीपूर्ण प्रदर्शन गर्दै स्पेनलाई बराबरीमा रोक्दियो। युवादेखि अनुभवी खेलाडी त्यसमा पनि गोलकिपर, डिफेन्स, मिडफिल्ड र आक्रमणमा विश्वका ‘एक-से-एक’ खेलाडी भएको स्पेनले बारम्बारको प्रयासका बावजुद केप भर्डेविरुद्ध गोल गर्नै सकेन।

अप्रत्यासित बराबरीपछि स्पेनले चर्को आलोचना ब्यहोरिरहेको छ। खासगरी उसको परम्परागत खेल शैली ‘टिकी-टाका’को चर्को आलोचना भइरहेको छ।
यही रणनीतिले केप भर्डेभन्दा बलियो साउदीसँग आज खेल्दा स्पेनको थप चुनौती बढ्ने विश्लेषण स्पेनिस खेलविश्लेषकले नै गरिरहेका छन्।
‘टिकी-टाका’मा प्रश्नैप्रश्न
समूह चरणको उद्घाटन खेलमा कमजोर मानिएको केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेन अब साउदी अरेबियाविरुद्ध मैदान उत्रँदा जित मात्र होइन आफ्नो खेलशैली पनि सुधार्नुपर्ने चुनौतीमा छ।
केप भर्डेविरुद्धको खेलमा स्पेनले बल नियन्त्रण आँफैले राखेको थियो। ७ सयभन्दा बढी सफल पास, २७ प्रहार र खेलको अधिकांश समय विपक्षीको क्षेत्रमा बिताउँदा पनि गोल गर्न सकेन। बरु लामो समयदेखि स्पेनको पहिचान मानिएको ‘टिकी-टाका’ शैली नै टोलीका लागि बोझ बन्यो।
टिकी-टाका फुटबलको एउटा खेल शैली हो, जसमा टिमले छोटो-छोटो र छिटो पास खेल्दै लामो समयसम्म बल आफ्नो नियन्त्रणमा राख्छ। यसमा विपक्षीलाई थकाएर गोल गर्ने अवसर टिमले खोज्ने गर्छ। यो खेल रणनीतिका लागि चिनिएको टोली स्पेन नै हो।
खासगरी सन् २००८ देखि २०१२ सम्म स्पेनको स्वर्णिम युगमा यो रणनीति सफल पनि भएको थियो। यहीबेला स्पेनले लगातार २ पटक युरोकप र एक पटक विश्वकप जितेको थियो। त्यसबेला मिडफिल्डरहरू जाभी, इनिएस्टा र बुस्केट्सको नेतृत्वमा स्पेनले बल नियन्त्रणलाई नै आफ्नो सबैभन्दा ठूलो हतियार बनाएको थियो।
तर, आधुनिक फुटबलमा केवल बल नियन्त्रण पर्याप्त मानिँदैन। यदि पासहरू धेरै पछाडि मात्र हुने र आक्रमणमा धार नहुने हो भने यही खेल शैली टिमको लागि कमजोरी बन्ने यसको आलोचकहरू बताउँछन्।
यसपाला केप भर्डेविरुद्ध स्पेनको खेललाई धेरै विश्लेषकहरूले ‘आउट डेटेड’ टिकी-टाकाको उदाहरणका रूपमा हेरेका छन्। यो खेलमा पनि स्पेनले बल त धेरै होल्ड गर्यो तर विपक्षीको डिफेन्स तोड्न भने सकेन।
सन् २०२४ को युरोकप जित्दा स्पेन तीव्र गति, विङबाट आक्रमण र आक्रामक मानसिकताका कारण चर्चित थियो। तर, विश्वकपमा भने पहिलो खेलमै टोली पुरानै शैलीमा फर्किएको देखियो। बल धेरै राख्ने तर विपक्षीको रक्षा भत्काउन नसक्ने कमजोरी पुनः पहिलो खेलमै देखियो।
विशेषगरी युवा स्टारहरू लमिन यामाल र निको विलियम्सको अनुपस्थितिले स्पेनको आक्रमण फितलो बन्यो। प्रशिक्षक लुइस डे ला फुएन्तेले फेरान टोरेस र गाभीलाई प्रयोग गरे पनि दुवैले अपेक्षित प्रदर्शन गर्न सकेनन्। टोरेसले गोल गर्ने सुनौलो अवसर गुमाए भने गाभीले आक्रमणमा गति दिन सकेनन्।
मिडफिल्डमा पनि स्थिति सन्तोषजनक रहेन। टोलीका प्रमुख खेलाडी रोड्री र फाबियन रुइज आफ्नो लयमा देखिएनन्। नतिजा स्वरूप स्ट्राइकर मिकेल ओयार्जाबाल पहिलो ३० मिनेटसम्म बल नै नछुने दुर्लभ अवस्थासम्म पुगे।
स्पेनी सञ्चारमाध्यम र समर्थकहरूले अहिले टोलीको शैलीमाथि तीव्र प्रश्न उठाइरहेका छन्। धेरैले यो खेलले सन् २०१४, २०१८ र २०२२ का विश्वकपको निराशाजनक प्रदर्शन सम्झाएको टिप्पणी गरेका छन्।
स्पेनी पत्रकार मिगुएल क्विन्तानाले स्पेनले सन २०२४ को युरो च्याम्पियनभन्दा पनि २०१८ र २०२२ को विश्वकपको असफल टोलीको मानसिकतामा स्पेनले यसपाला विश्वकप खेलेको आरोप लगाएका छन्।
‘नतिजाले कहिलेकाहीँ भ्रम सिर्जना गर्न सक्छ, तर खेलशैलीले कहिल्यै झुट बोल्दैन। केप भर्डेविरुद्धको खेलमा स्पेनले २०२४ को च्याम्पियन टोलीजस्तो नभएर २०१८ र २०२२ को असफल टोलीजस्तो खेल्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यसो भनिरहँदा त्यही खेलको अन्त्यतिर भने स्पेनले लय समात्ने प्रयास गरेको थियो। चोटबाट फर्किएका लमिन यामाल ७१औँ मिनेटमा मैदानमा उतरेपछि स्पेनको खेलमा अचानक गति थपिएको थियो।
यामाल मैदानमा आएसँगै टोलीले बढी आक्रमणकारी ढाँचामा खेल्न थाल्यो। उनी फर्किए टोलीको समस्या धेरै हदसम्म समाधान हुन सक्ने पनि देखिन्छ।

साउदीसामू चुनौती
आज स्पेनले दोस्रो खेल खेल्दैछ। आज उसको प्रतिस्पर्धी टोली हो- साउदी अरब। अघिल्लो संस्करणमा अर्जेन्टिनालाई समूह चरणमा अप्रत्यासित रुपमा हराएको टोली हो साउदी।
एसियाको प्रभावशाली टोली साउदीले पछिल्ला वर्षमा फुटबलमा पैसा पानीसरी बगाएको छ। आफ्नो लिगको स्तर बढाउन युरोपका कहलिएका खेलाडीलाई आफ्नै देशमा लगेर उसले खेलाइरहेको छ।
यस्तोमा स्पेनले साउदीलाई कमजोर आँक्न सक्दैसक्दैन। तर, सँगसँगै अर्को प्रश्न पनि उब्जन्छ। केप भर्डेकै डिफेन्स तोड्न नसकेको टिकी-टाकाको रणनीतिले स्पेनले साउदी अरबलाई हराउन सक्ला?
यो खेल बेलुकी पौने १० बजे सुरु हुँदैछ।
स्पेनका लागि साउदी अरेबियाविरुद्धको खेल निर्णायक बन्ने देखिएको छ। केप भर्डेले स्पेनविरुद्ध देखाएको सफल रक्षात्मक रणनीति देखेको साउदी त्यही रणनीतिमा काउन्टर अट्याकबाट गोल गर्ने प्रयास गर्ने बलियो सम्भावनाको खोजीमा रहनेछ।
स्पेनका डिफेन्डर मार्क कुकुरेलाले पहिलो खेलबाट पाठ सिकेको स्वीकार गरेका छन्।
‘हामीले गल्ती गर्यौं। हाम्रो प्रदर्शन अपेक्षाअनुसार भएन। तर, राम्रो कुरा के हो भने यो झट्का समूह चरणको सुरुमै आयो। नकआउट चरणमा यस्तो भएको भए हामी प्रतियोगिताबाट बाहिरिन्थ्यौं,’ उनले भनेका छन्।
मिडफिल्डर गाभीले पनि टोलीले सुधार गर्नुपर्ने धेरै पक्ष रहेको स्वीकार गरेका छन्।
‘हामीले बल निकै सुस्त गतिमा चलायौं। पासहरू पनि धेरै भारी भए। हामी अझ धेरै राम्रो खेल्न सक्छौं,’ उनले भने।
स्पेनले यदि बाँकी दुई खेल जित्न सके समूह विजेताको रूपमा अगाडि बढ्ने सम्भावना बलियो छ। तर, त्यसका लागि साउदी अरेबियाविरुद्ध केवल ३ अंक जोड्नु पर्याप्त हुने छैन। युरोपेली च्याम्पियनले आफ्नो पहिचान पुनः स्थापित गर्नुपर्ने चुनौती पनि त्यतिकै रहनेछ।










