चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई तिहाइ बहुमतको सदुपयोग गर्न रास्वपालाई आग्रह गरेका छन्।
लिङदेनले आइतबार रास्वपाको महाधिवेशन उद्घाटनका अवसरमा शुभकामना दिने क्रममा इतिहासमा यस्तो अवसर कहिल्यै नआउने ख्याल गर्न आग्रह गरे। उनले जनताको विश्वासलाई निराशामा परिणत हुन नदिन आग्रह गरे।
‘तपाइँहरुलाई इतिहासले यस्तो अवसर दिएको छ। यस्तो अवसर कहिल्यै आउँदैन। यो अवसर खेर फाले पार्टीलाई मात्र हवइन देशलाई नै धोका हुन्छ। त्यसैले यो जिम्मेवारी पूरा गर्न सक्नुहोस्। जनताको विश्वासलाई निराशामा परिणत गर्न नदिनुहोस्,’ उनले भने।
लिङदेनले रास्वपाले राजा चाहिन्छ भन्ने राप्रपाका कार्यकर्ताको पनि भोट पाएको भन्दै निषेधको साटो सहमतिको राजनीति गर्न आग्रह गरे।
‘तपाइँहरुलाई नेपालमा राजा चाहिन्छ भन्नेको पनि भोट छ। राजा चाहिन्छ भन्ने राप्रपालाई भोट नदिएर बालेनले राजा ल्याउँछ भनेर जनताले रास्वपालाई भोट दिएका छन्। राष्ट्रिय सहमति कायम नगरी देशले लिक समात्दैन। निषेध होइन सहमतिको राजनीतिबाट देशलाई अगाडि लान सकौं,’ उनले भने।










