१०० ग्राम सुन आयात गर्न नेपाल बैंकर्स संघसँग माग, व्यवसायीले महासंघबाट ‍सिफारिस लिन सक्ने



बिजमाण्डू
२०८३ असार ७ गते १३:३१ | Jun 21, 2026
१०० ग्राम सुन आयात गर्न नेपाल बैंकर्स संघसँग माग, व्यवसायीले महासंघबाट ‍सिफारिस लिन सक्ने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले १०० ग्रामको सुन आयात गर्न बैंकर सँग माग गरेको छ। महासंघले नेपाल बैंकर्स संघका अध्यक्षलाई भेटेर १०० ग्रामको सुनको बार ल्याउन माग गरेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यले बैंकर्स संघ पनि १०० ग्राम सुनको बार आयात गर्न सहमत भएको बताए।

महासंघले व्यवसायीहरुले १०० ग्रामको सुनको बार माग गरेको पत्र भएपछि बैंकहरुले आयात गर्ने कुरा भएको उनले बताए।

‘महासंघले बैंकर्स संघमा जिल्ला नगर संघहरुबाट १०० ग्राम बारको  माग भएको भनेर पत्र पठाइसकेको छौं। अब साना व्यवसायीले १०० ग्राम सुन समूहमा खरिद गर्न पर्दैन’ उनले भने।

अब व्यवसायीले १०० ग्रामको सुनका लागि महासंघबाट सिधै सिफारिस लिएर खरिद गर्न सक्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।

‘कम बारको सुनमा प्रिमियम चार्ज बढी पर्छ। तर, साना व्यवसायीले आवश्यक परेको समयमा सजिलै खरिद गर्न मिल्छ,’ उनले भने ।

अहिले महासंघमा व्यवसायीहरुको सहजताको लागि १०० ग्रामको बार आयात गर्न संघमा माग गरिएको हो। साना व्यवसायीले सुन खरिद गर्नका लागि ग्रुप बनाएर महासंघबाट सिफारीस लिएरमात्र पाइन्थो। व्यवसायीहरुले ५०० ग्राम सुन खरिद गरेर भाग लगाउने गरेका थिए।

‘बजारमा सुनको माग कम छ। ग्राहकले पुरानो सुन ल्याएर नयाँ डिजाइनमा गहना बनाउने गरेका छन्। जसले गर्दा सुनको खपत पहिले भन्दा घटेको छ। सुनको माग कम भएको समयमा व्यवसायीले बैंकबाट व्यक्तिगत रुपमा खरिद गर्न सक्ने गरी महासंघले यो व्यवस्था गरेको हो,’ उनले जानकारी दिए।

पछिल्लो समय १०० ग्रामको बार सुन ल्याएर बिक्री गरिएको थियो। गत फागुनमा केही बैंकले ल्याएको १०० ग्रामको बार प्रिमियम चार्ज बढी पर्ने भएपछि व्यवसायीले खरिद नगर्दा लामो सयमसम्म स्टक बसेको थियो।