गिग अर्थतन्त्र र राइड हेलिङबारे चर्चा, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्‍याउने सक्ने



बिजमाण्डू
२०८३ असार ७ गते १३:१७ | Jun 21, 2026
गिग अर्थतन्त्र र राइड हेलिङबारे चर्चा, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्‍याउने सक्ने

काठमाडौं । नेपाल इकोनोमिक फोरम (एनइएफ) ले आज ‘गिग अर्थतन्त्र र राइड हेलिङः रोजगारी सिर्जनातर्फ’ विषयमा एनइएफटक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्य बारे छलफल गरेका थिए।

Tata
GBIME
Nepal Life

छलफलमा राइड हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय, एसएमइ्ज र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको विषयमा जोड दिइएको थियो।

सहभागीहरूले गिग अर्थतन्त्र नेपालका युवाहरूका लागि आम्दानीको अवसर सिर्जना गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताएका थिए।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए।

एनइएफका कार्यकारी बोर्ड सदस्य रोजेश श्रेष्ठले राइड हेलिङ सेवाले पर्यटन, सानाव्यवसायको विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले यो क्षेत्र केवल यातायातसँग मात्र नभई आर्थिक विकाससँग पनि जोडिएको उल्लेख गरे।

इड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइड हेलिङ क्षेत्रको तीव्र विस्तारलाई व्यवस्थितगर्न स्पष्ट कानुनी व्यवस्था र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए।

कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूहकी वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहाल सहभागी थिए। उनीहरूले डिजिटल व्यवसाय, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता तथा स्पष्ट कानुनी संरचनाको आवश्यकताबारे धारणा राखेका थिए।

कार्यक्रमको समापन गर्दै एइएफका अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै अनुसन्धान र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।