एनपीएल फ्रेन्चाइजले टुंगाए ‘रिलिज र रिटेन’ : ‘हेभी रिलिज’ आशिफ, अरु टोलीले क-कसलाई राखे?



बिजमाण्डू
२०८३ असार ४ गते ०६:४१ | Jun 18, 2026
एनपीएल फ्रेन्चाइजले टुंगाए ‘रिलिज र रिटेन’ : ‘हेभी रिलिज’ आशिफ, अरु टोलीले क-कसलाई राखे?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अक्सनका लागि फ्रेन्चाइजहरुले तयारी अघि बढाउन थालेका छन्। फिफा विश्वकपको माहोल चलिरहँदा फ्रेन्चाइज भने अक्सनको तयारीमा जुटेका हुन्।

Tata
GBIME
Nepal Life

अक्सनका लागि फ्रेन्चाइजहरु खेलाडी रिटेन र रिलिज गर्न थालेका छ। यसपटक सबै भन्दा ठूलो नाम रिलिज गर्ने फ्रेन्चाइज बन्यो जनकपुर बोल्ट्स।

पहिलो संस्करणमा च्याम्पियन बनेर दोस्रो संस्करणमा बिर्सनलायक प्रदर्शन गरेको बोल्ट्सले यसपटक ‘बोल्ड’ निर्णय लियो। मार्की खेलाडीसमेत रहेका आशिफ शेखलाई उसले रिलिज गर्‍यो। उनी यसपाला रिलिज हुने सबैभन्दा ठूलो नाम बनेका छन्।

जनकपुरले अनिलकुमार शाह, ललितनारायण राजवंशी, मयन यादव, आदित्य महता र विकाश अग्री छन्। जनकपुरबाट रिलिज हुने खेलाडीमा आशिफसहित शुभ कंशाकार, किशोर महतो, तुलबहादुर थापा, सचिन भट्ट र रुपेश सिंह छन्।

त्यस्तै, चितवन राइनोजले ६ खेलाडी रिटेन गरेको छ। रिटेन भएका खेलाडीमा कुशल मल्ल, देव खनाल, कमलसिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहरा छन्। यो टोलीबाट विपिन रावल, गौतम केसी, अमरसिंह रौटेला र सौगात ढकाल रिलिज भएका छन्।

पोखरा एभेन्जर्सले कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गरेको छ। रिटेन हुने खेलाडीमा कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेल छन्। रिलिज हुने खेलाडीमा तृतराज दास, अभिषेक तिवारी, कृष्ण पौडेल, सन्दीप खत्री र रोहित चन्द छन्।

त्यस्तै, कर्णाली याक्सले कप्तान सोमपाल कामीसहित सात खेलाडी रिटेन गरेको छ। यो सूचीमा सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युवराज खत्री र युनिस विक्रम सिंह छन्। रिलिज हुने खेलाडीमा अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिन शर्मा र इमरान शेख छन्।

काठमाडौं गोर्खाजले ६ खेलाडी रिटेन गरेको छ। मार्की तथा कप्तान करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम,  शाहब आलम र सन्तोष यादवलाई काठमाडौंले रिटेन गरेको छ। काठमाडौंबाट रिलिज हुने खेलाडीमा प्रतिक श्रेष्ठ, राशिद खान, दिपेश कँडेल, उत्तम थापा मगर, तुलबहादुर थापा, आकाश त्रिपाठी छन्।

दुईपटकको उपविजेता सुदूरपश्चिमले पनि रिटेन र रिलिज टुंगाएको छ। उसले कप्तान दीपेन्द्रसिंह ऐरीसहित सात खेलाडी रिटेन गरेको छ। उसले ऐरी, विनोद भण्डारी,अभिनास बोहरा,  इशान पाण्डे, हेमन्त धामी, हिक्मत महरा र आरिफ शेखलाई रिटेन गरेको छ। त्यस्तै, नरेन साउद, दिपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहोरालाई रिलिज गरेको छ।

विराटनगर किंग्सले पनि ६ खेलाडीलाई रिटेन गरेको छ। रिटेन हुने खेलाडीमा सन्दीप लामिछाने,  लोकेश बम, बसीर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुवास भण्डारी छन्। यसक्रममा ६ खेलाडी रिलिज भएका छन्। सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, शाहिल पटेल र श्रवण किस्कु र आयुष न्यौपाने रिलिज भएका छन्।

च्याम्पियन टोलीले लुम्बिनी लायन्सले भने अझै रिलिज र रिटेन टुंगाएको छैन।