क्रोएसियालाई हराउँदै विश्वकपमा इंग्ल्यान्डको विजयी सुरुआत, केनको दोहोरो गोल



बिजमाण्डू
२०८३ असार ४ गते ०३:५६ | Jun 18, 2026
क्रोएसियालाई हराउँदै विश्वकपमा इंग्ल्यान्डको विजयी सुरुआत, केनको दोहोरो गोल
ह्यारी केन। Photo: FIFA

काठमाडौं। इङ्ग्ल्याण्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। आज सम्पन्न समूह ‘एल’को क्रोएसियालाई ४-२ गोलले हराउँदै विश्वकपमा सुखद सुरुवात गरेको हो।

Tata
GBIME
Nepal Life

अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डलाई विजयी बनाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा जुड बेलिङ्घम र मार्कस रासफोर्डले एक-एक गोल थपे। अर्कोतर्फ क्रोएसियाका मार्टिन बातुरिना र पेटार मुसा गोल फर्काए पनि इङ्ग्ल्याण्डलाई रोक्न भने सकेनन्।

खेलको नवौं मिनेटमा नोनी माडुकेमाथि लुका मोड्रिचले फाउल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो। ह्यारी केनको पहिलो प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिचले रोके पनि क्रोएसियाली खेलाडी समयअघि नै पेनाल्टी क्षेत्रभित्र प्रवेश गरेको भन्दै रेफ्रीले पुनः प्रहार गर्न आदेश दिए। दोस्रो प्रयासमा केनले कुनै गल्ती नगरी गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।

खेलको ३६औं मिनेटमा क्रोएसियाले खेल बराबरीमा ल्यायो। पेटार सुचिचको पासमा मार्टिन बातुरिनाले शक्तिशाली प्रहार गर्दै गोल गरे।

बराबरीपछि इंग्ल्यान्डले पुनः अग्रता लिन धेरै समय कुर्नुपरेन। ४२औं मिनेटमा डेक्लान राइसको कर्नरमा केनले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई २-१ ले अघि बढाए। यससँगै उनले विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक १० गोल गर्ने कीर्तिमानमा ग्यारी लिनेकरसँग बराबरी गरे।

पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाले फेरि उत्कृष्ट पुनरागमन गर्‍यो। मारियो पासालिचको लामो पासलाई इभान पेरिसिचले हेडमार्फत पेटार मुसासम्म पुर्‍याए र मुसाले भली प्रहार गर्दै गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकियो।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै इंग्ल्यान्डले पुनः अग्रता बनायो। इलियट एन्डरसनको पासमा जुड बेलिङ्घमले एकल प्रयासमा पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दै सुन्दर गोल गरे।

त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन्। क्रोएसियाले बराबरी गोलका लागि दबाब बढाइरहेका बेला इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले बेन्चबाट बुकायो साका र मार्कस रासफोर्डलाई मैदान पठाए, जसको प्रतिफल टोलीले तुरुन्तै पायो।

८५औं मिनेटमा साकाको उत्कृष्ट पासमा रासफोर्डले बायाँतर्फबाट बल अघि बढाउँदै डिफेन्डरलाई छलाएर सट प्रहार गरे। उनको प्रहार गोलपोस्टको दायाँ कुनामा जाँदा इंग्ल्यान्डले ४–२ को सुरक्षित अग्रता बनायो।

बाँकी समयमा क्रोएसियाले गोल फर्काउने प्रयास गरे पनि इंग्ल्यान्डको डिफेन्सले त्यसलाई विफल बनायो।

यस जितसँगै इंग्ल्यान्डले समूह ‘एल’मा महत्वपूर्ण तीन अंक जोडेको छ भने क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। यही समूहका घाना र पानामा आजै आमनेसामने हुँदैछन्।