काठमाडौं। डीआर कंगोले पोर्चुगललाई बराबरीमा रोकेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न समूह ‘के’ खेलको खेलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल डीआर कंगोसँग १-१ को बराबरीमा रोकिएको हो।
टेक्सासको ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा सुरुआतदेखि नै पोर्चुगल हाबी भएएको थियो। छैटौं मिनेटमै पेड्रो नेटोको आकर्षक क्रसमा युवा मिडफिल्डर जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। विश्वकपमा २१ वर्षे नेभेसको यो पहिलो व्यक्तिगत गोल हो।
रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले त्यसपछि पनि बलमाथि नियन्त्रण कायम राखे पनि थप गोल गर्न सकेन। बरु डीआर कंगोले क्रमशः खेलमा पकड जमाउँदै अवसर सिर्जना गर्न थाल्यो।
पहिलो हाफको इन्जुरी समयमा डीआर कंगोले ऐतिहासिक गोल गर्दै खेल बराबरीमा ल्यायो। आर्थर मासुआकुको उत्कृष्ट क्रसमा योआने विस्साले शक्तिशाली हेडर प्रहार गर्दै गोल गरे। यो गोल डीआर कंगोको विश्वकप इतिहासकै पहिलो गोल बनेको छ।
यसअघि सन् १९७४ मा जायर नामबाट विश्वकप खेलेको डीआर कंगोले तीनै खेलमा गोल गर्न सकेको थिएन। ५२ वर्षपछि विश्वकपमा फर्किएको टोलीले आफ्नो पहिलो गोलसँगै पहिलो अंक पनि जोड्न सफल भयो।
दोस्रो हाफमा पोर्चुगलले लगातार आक्रमण गरे पनि डीआर कंगोका गोलरक्षक लियोनल म्पासी उत्कृष्ट लयमा देखिए। उनले ब्रुनो फर्नान्डेस, जोआओ कान्सेलो र रोनाल्डोका प्रयासलाई विफल पार्दै टोलीलाई हारबाट जोगाए।
पोर्चुगलका कान्सेलोले दोस्रो हाफमा सुन्दर बाइसाइकल किकमार्फत गोल गरे पनि अफसाइडका कारण गोल मान्यता पाएन। अन्तिम समयमा फर्नान्डेस र रोनाल्डोले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन्।
४१ वर्षीय रोनाल्डोले यस खेलसँगै विश्वकपमा आफ्नो २३औं खेल खेले। उनी अब विश्वकप इतिहासमा सबैभन्दा बढी खेल्ने खेलाडीहरूको सूचीमा चौथो स्थानमा छन्।
बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। यही समूहको अर्को खेलमा आजै कोलम्बिया र उज्बेकिस्तान भिड्नेछन्।










