काठमाडौ। समुह ‘एच’ को दोस्रो खेल पनि बराबरीमा रोकिएको छ। फिफा विश्वकप अन्तर्गत समूह ‘एच’ का स्पेन र काबो भर्डे गएराति बराबरीमा रोकिएकोमा आज बिहान त्यही समूहका साउदी अरब र उरुग्वे पनि बराबरीमा रोकिएका हुन्।
अमेरिकाको मियामी स्टेडियममा मंगलबार बिहान भएको खेलमा साउदीले अग्रता जोगाउन नसके पनि एक अंक सुरक्षित गर्न सफल भयो।
खेलको ४१औँ मिनेटमा अब्दुलेलाह अल अम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए। मुसाब अल जुवायरले कर्नरबाट दिएको उत्कृष्ट पासमा साउद अब्दुलहामिदको हेडर उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले रोकेका थिए। तर फर्किएको बलमा अल अम्री सबैभन्दा पहिले पुगे र नजिकैबाट गोल गर्दै साउदीलाई १–० को अग्रता दिलाए।
पहिलो हाफमा उरुग्वेले बलमाथि बढी नियन्त्रण बनाए पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन। म्याक्सी अराउजो र फेडेरिको भिनासले गरेका केही प्रयास साउदी गोलरक्षक मोहम्मद अल ओवाइसले उत्कृष्ट बचाउ गर्दै विफल बनाएका थिए।
दोस्रो हाफमा प्रशिक्षक मार्सेलो बिएल्साले आक्रामक परिवर्तन गरेपछि उरुग्वे खेलमा फर्किने प्रयासमा लाग्यो। ६०औँ मिनेटमा म्यानुअल उगार्टेको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किँदा उरुग्वे बराबरी गोल गर्न निकै नजिक पुगेको थियो।
तर साउदीका गोलरक्षक अल ओवाइस लगातार उत्कृष्ट लयमा देखिए। उनले निकोलास दे ला क्रुज, फेडेरिको भाल्भेर्दे र अन्य उरुग्वेली खेलाडीका प्रहारहरू रोकेर टोलीलाई लामो समयसम्म अग्रतामा राखे।
अन्ततः ८०औँ मिनेटमा उरुग्वेले खेल बराबरी गर्न सफल भयो। भिनासको हेडर अल ओवाइसले रोके पनि फर्किएको बलमा म्याक्सी अराउजोले सहज रूपमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
त्यसपछि उरुग्वेले विजयी गोलका लागि लगातार दबाब बनायो। इन्जुरी समयमा भाल्भेर्देको शक्तिशाली प्रहारलाई अल ओवाइसले उत्कृष्ट ढंगले बचाउ गर्दै साउदीलाई हारबाट जोगाए। रोड्रिगो भारेला र ब्रायन रोड्रिगेजका प्रयास पनि लक्ष्यभन्दा बाहिरिएपछि खेल बराबरीमै सकियो।
यो बराबरीसँगै समूह ‘एच’ को अंक तालिका थप रोचक बनेको छ। यसअघि भएको खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेलेका कारण चारै टोलीले समान एक–एक अंक बाँडेका छन्।











