सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न मन्त्रीले बनाए समिति



बिजमाण्डू
२०८३ जेठ २२ गते १९:२० | Jun 5, 2026
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न मन्त्रीले बनाए समिति

काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा स्याटेलाइट खरिद प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ।

Tata
GBIME
Nepal Life

स्याटेलाइट खरिद गर्दा प्रक्रियागत कमजोरीका साथै आर्थिक अनियमितता भएको उजुरी परेपछि सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले छानबिन समिति गठन गरेका हुन्। विभिन्न निकायमा परेका उजुरी र महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनलाई आधार मानेर समिति गठन गरेको मन्त्रालयले जनाएको छ।

इन्जिनियर डा आभाष मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीन कुमार मिश्र सदस्य छन्।

समितिलाई २१ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। मन्त्रालयले स्याटेलाइट खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रूपान्तरण तथा उपकरण खरिद प्रक्रिया छानविन गर्न भनेको छ।

सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानल भू-उपग्रहमार्फत प्रसारण गर्न विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग सन् २००२ देखि निरन्तर भाडा सम्झौता गर्दै आएको छ।

सम्झौतामा समय समयमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी)बाट हाई डेफिनेसन (एचडी)मा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयमा प्रश्न उठ्दै आएको छ। यस विषयमा महालेखा परीक्षकको कार्यालयले समेत आफ्नो वार्षिक प्रतिवेदन प्रश्न उठाएको छ।