भेपभित्रको सुन प्रकरण : नासु रेवन्त खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेषको आदेश



बिजमाण्डू
२०८३ जेठ २२ गते १६:५४ | Jun 5, 2026
भेपभित्रको सुन प्रकरण : नासु रेवन्त खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउन विशेषको आदेश

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा (नासु) रेवन्त खड्कालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले खड्कालाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा खड्काविरुद्ध मुद्दा दायर गरेको थियो। आयोगले उनीबाट ७ करोड ७८ लाख ६८ हजार रुपैयाँ विगो असुल गर्न माग गरेको छ।

मुद्दाअनुसार २०७९ पुस १० गते फ्लाइ दुबईमार्फत नेपाल आएका एक चिनियाँ नागरिकले ७३० वटा भेप (इलेक्ट्रोनिक चुरोट) भित्र ९ किलो सुन ल्याएका थिए। उक्त सुन भन्सार नियन्त्रणमा पुगेपछि भन्सार कार्यालयको कोठाबाट चोरी गरी बिक्री गरिएको आरोप छ।

विशेषले विभिन्न व्यक्तिका बयान, बैंक खाताको विवरण तथा संकलित प्रमाणहरूको अध्ययनपछि खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने निष्कर्ष निकालेको जनाएको छ।

यस प्रकरणसँग सम्बन्धित रहेर रेवन्त खड्काविरुद्ध जिल्ला अदालत काठमाडौंमा पनि छुट्टै मुद्दा विचाराधीन छ।