विद्युत आयोजनामा निजी क्षेत्रको साढे ४ खर्ब लगानी, तीन लाखभन्दा बढीले रोजगारी पाएको दाबी



बिजमाण्डू
२०८३ जेठ २१ गते १७:४१ | Jun 4, 2026
विद्युत आयोजनामा निजी क्षेत्रको साढे ४ खर्ब लगानी, तीन लाखभन्दा बढीले रोजगारी पाएको दाबी

काठमाडौं। विद्युत आयोजनामा निजी क्षेत्रको लगानी करिब साढे ४ खर्ब रुपैयाँ पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)ले विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रले अहिलेसम्म ४ खर्ब ४० अर्ब रुपैयाँ लगानी गरेको बताएको छ।

Tata
GBIME
Nepal Life

इप्पानका अनुसार बैंक तथा वित्तीय संस्थाहले ८ खर्ब ७० अर्ब ऋण लगानी गरेका छन्। विद्युत् आयोजनामा हाल ६ लाख संस्थापक लगानीकर्ता छन्। डेढ करोड नेपालीले ४८ अर्बको सेयर लगानीसहित विद्युत् आयोजनामा सहभागिता जनाएको इप्पानले जनाएको छ।

विद्युत आयोजनामार्फत निजी क्षेत्रले रोयल्टी, कर र अन्य राजस्व गरी वार्षिक २५ अर्बभन्दा बढीको योगदान गर्दै आएको र तीन लाखभन्दा बढीलाई रोजगारी दिएको इप्पानले दाबी गरेको छ।

निजी क्षेत्रको प्रवेशअघि २०५७ सालसम्म विद्युत उत्पादन जम्मा २५२ मेगावाट रहेकामा अहिले ४२०० मेगावाट पुगेको छ। त्यसमध्ये ३५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरेको हो।

हाल ५७९२ मेगावाटका १८७ आयोजना निर्माणाधीन छन् भने २८६२ मेगावाटका १३४ आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) गरेर वित्तीय व्यवस्थापनको चरणमा छन्।

विद्युत् विकास विभागको तथ्यांक अनुसार २५‍ हजार ७४३ मेगावाटका ३८० आयोजना निर्माणको विभिन्न चरणमा छन्। यसमध्ये १६ हजार ११४ मेगावाटका २६१ मेगावाटका आयोजनाले पीपीएका लागि आवेदन दिएका छन्।

निर्माणाधीन, निर्माण सम्पन्न तथा विकासको चरणमा रहेका ३४ हजार ३७७ मेगावाटका ९१५ आयोजनाको अनुमतिपत्र निजी क्षेत्रसँग छ।