नेपालबाट भारततर्फ चिया निर्यात पुनः प्रभावित, ६ ट्रक रोकिए काँकडभिट्टामा



अनन्तराज न्यौपाने
२०८३ जेठ २१ गते १३:५० | Jun 4, 2026
नेपालबाट भारततर्फ चिया निर्यात पुनः प्रभावित, ६ ट्रक रोकिए काँकडभिट्टामा
पूर्वी नाका काँकडभिट्टा। तस्बिर : रासस

विराटनगर। नेपालबाट भारततर्फ चियाको निर्यात पुनः रोकिएको छ। भारतीय चिया बोर्डले हरेक ट्रकको नमुना परीक्षण गर्ने भन्दै अवरोध सिर्जना गरेपछि चिया निर्यात पुनः प्रभावित भएको हो।

Tata
GBIME
Nepal Life

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले एक सातादेखि भारतमा चिया निर्यात हुन नसकेको जानकारी दिए।

अध्यक्ष पराजुलीका अनुसार विभिन्न निर्यातकर्ताका ५० वटा इन्भ्वाइसका ६ ट्रक चिया निर्यात हुन नसकेर काँकडभिट्टा नाकामा रोकिएका छन्। यसअघि भारतले वैशाख १८ देखि जेठ ६ गतेसम्म चिया रोकेको थियो।

जेठ ५ गते भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको चिया बोर्डले सूचना जारी गर्दै नेपाली चियालाई सहजीकरण गर्न खोजेको थियो। सूचनामा नेपालबाट भारतभित्रको उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छेको परीक्षण आवश्यक नहुने उल्लेख गरिएको थियो। यस्ता चियाको र्‍यान्डम सेम्प्लिङ मात्र हुने बताइएको थियो।

बोर्डले नेपालबाट भारतमा आयात गरी प्याकिङ र ब्रान्डिङ गर्दै विदेशमा निर्यात गर्ने हो भने त्यस्तो चियाको मात्र हरेक ट्रकको परीक्षण गर्नुपर्ने जनाएको थियो।

‘तर, उक्त सूचना पालना हुन छाडेको छ। भारतले हरेक ट्रकको परीक्षण गरिरहेको छ। यसका कारण जेठ ६ यता २ वटा मात्र ट्रकको चिया निर्यात हुन सकेको छ। बाँकी ट्रक भन्सार परिसरमै छन्,’ अध्यक्ष पराजुलीले भने।

उनले चियालाई परीक्षणका लागि कोलकाता पठाउनु पर्ने र यसको रिपोर्ट आउन १५ देखि २१ दिन लाग्ने बताए।

यतिका दिनसम्म ट्रकको डिटेन्सन, ड्यामरेज र भन्सार परिसरको पार्किङ शुल्कको रकमले लागतमा ठूलो वृद्धि हुने व्यवसायीको भनाइ छ। साथै, ३ हप्तासम्म भन्सारमा खडा गर्ने गरी कुनै पनि ढुवानी व्यवसायीले ट्रक दिन नमान्ने उनीहरूको दुखेसो छ।

पराजुलीका अनुसार जेठ १८ भन्दा पहिले पनि र्‍यान्डम सेम्प्लिङ हुने गर्थ्यो। यसमा निर्यात गर्न लागिएकोमध्ये ५ प्रतिशत चियाको सेम्प्लिङ हुन्थ्यो। अब त सबै परीक्षण गर्न बाध्य हुनुपरेको छ।

काँकडभिट्टा भन्सारका अधिकृत रामचन्द्र ढुंगानाले अध्यक्ष पराजुलीको भनाइ पुष्टि गर्दै नेपाली चिया बोकेका ट्रक १० दिनदेखि भन्सार परिसरमा रोकिएको बताए।

नेपालबाट चालु आर्थिक वर्षको वैशाखसम्ममा २ अर्ब ७२ करोड ८ लाख रुपैयाँको चिया भारततर्फ निर्यात भएको छ। त्यस्तै, गत आव २०८१/८२ मा ३ अर्ब ९८ करोड ३३ लाख मूल्यको निकासी भएको थियो।