सानिगाड हाइड्रोको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता



बिजमाण्डू
२०८३ जेठ १८ गते ११:१३ | Jun 1, 2026
सानिगाड हाइड्रोको आइपीओमा आवेदन खुला, सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता


काठमाडौं। सानिगाड हाइड्रोले आइपीओ जारी गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका श्रमिकलाइ सेयर वितरण गरेपछि दोस्रो चरणमा सोमबारदेखि सर्वसाधारणका लागि बिक्री खुलाएको हो।

Vigo
GBIME
Tata

हाइड्रोले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ करोड ७४ लाख रुपैयाँ बराबरको ४६ लाख ७४ हजार कित्ता सेयर छुट्याएको छ।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकामा पहिलो चरणमा वितरण गरिसकेको छ।

लगानीकर्ताले १० देखि २० हजार कित्ता सेयरका लागि जेठ २१ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्रएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

सानिगाडले सञ्चालन गरेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ छ।

गत पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ८.६५ र प्रति सेयर नेटवर्थ ११३.२२ रुपैयाँ छ। यस अवधिसम्म कम्पनी २६ करोड ३७ लाख रुपैयाँ संचित नाफामा रहेको विवरणपत्रमा उल्लेख छ।

कांग्रेसका नेतासमेत रहेका व्यवसायी उमेश श्रेष्ठ कम्पनीको अध्यक्ष हुन्। कम्पनीमा उनको ८ लाख ९७ हजार कित्ता सेयर छ।